NM Khabar 25 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गण्डकीको गाँजा विधेयक संविधान र संघीय कानुनविपरीत: प्रदेश प्रमुखद्वारा फिर्ता

गण्डकी प्रदेश सभाबाट सर्वसम्मत पारित गाँजा खेती नियमन विधेयक प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण नगरी फिर्ता पठाएका छन्। संविधान, सङ्घ–प्रदेश–स्थानीय तह ऐन, र लागू औषध नियन्त्रण ऐनसँग बाझिएको भन्दै विधेयक फिर्ता भएको हो। प्रदेश प्रमुखको कार्यालयले संघीय कानुन र अन्तर्राष्ट्रिय महासन्धि कार्यान्वयनको दायित्व सङ्घीय सरकारमा रहेको जनाएको छ।
Sarita Pandey
Sarita Pandey
25 July 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
गण्डकी गाँजा विधेयक फिर्ता
Share:

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट सर्वसम्मत पारित गाँजा खेती नियमन विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका छन्। २०८३ असार ३० गते प्रमाणीकरणका लागि प्राप्त विधेयक संविधानको धारा २०१ (३) बमोजिम सन्देशसहित प्रदेश सभामा फर्काइएको हो।

प्रदेश प्रमुखको कार्यालयले विधेयक नेपालको संविधान, सङ्घ–प्रदेश–स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ र लागू औषध (नियन्त्रण) ऐन, २०३३ सँग बाझिएको निष्कर्ष निकालेको छ। संविधानको धारा ५७ (६) ले प्रदेशले संघीय कानुनसँग नबाझिने गरी कानुन बनाउनुपर्ने व्यवस्था गरेको छ। बाझिएको हदसम्म त्यस्तो कानुन अमान्य हुनेछ।

सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ ले पनि प्रदेशलाई सङ्घीय कानुन विपरीत कानुन बनाउन बन्देज लगाएको छ। प्रदेश प्रमुखको कार्यालयले गण्डकी प्रदेश सभाले पारित गरेको विधेयकले संवैधानिक सीमा नाघेको ठहर गरेको छ।

लागू औषध (नियन्त्रण) ऐन, २०३३ ले गाँजालाई लागू औषधको रूपमा परिभाषित गरी खेती, उत्पादन, बिक्री, वितरण, ओसारपसार, सञ्चय र सेवनमा प्रतिबन्ध लगाएको छ। ऐनले नेपाल सरकारले नियम बनाई तोकिएको सर्त र क्षेत्रमा औषधीय प्रयोजनका लागि गाँजाको प्रयोग वा निकासीको अनुमति दिन सक्ने व्यवस्था गरेको छ। तर, यो अधिकार सङ्घीय सरकारमा मात्र निहित रहेको प्रदेश प्रमुखको जिकिर छ।

प्रदेश प्रमुखको कार्यालयले नेपाल लागू औषध सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स, १९६१’ को पक्षराष्ट्र भएकाले यसको कार्यान्वयनको दायित्व पनि सङ्घीय सरकारकै भएको उल्लेख गरेको छ।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार