गण्डकी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले बाढी र पहिरो निम्त्याउँदा २१ जनाको मृत्यु भएको छ। बागलुङ, म्याग्दी र मनाङ जिल्ला बढी प्रभावित भएका छन्। केही व्यक्ति अझै बेपत्ता छन्।
विपद्पछिको उद्धार, खोजी, उपचार, राहत, पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारले आकस्मिक बैठक बसी निर्णय गरेको छ। नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखी स्रोत र साधनको पूर्ण परिचालन गरिने प्रतिबद्धता प्रदेश सरकारले जनाएको छ।
उद्धार तथा राहतका लागि नेपाली सेनाको समन्वयमा ३ वटा हेलिकप्टर परिचालन गरिएको छ। आइतबार र सोमबार गरी १ सय ४३ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मनाङमा २ चिकित्सक र १ नर्ससहित आवश्यक औषधिसमेत हेलिकप्टरमार्फत पठाइएको छ। प्रदेश मातहतका सबै अस्पतालहरूलाई आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न र हाई अलर्टमा रहन निर्देशन दिइएको छ।
तीन दिनको वर्षाबाट प्रदेशभर ११ झोलुङ्गे पुल, ६ पक्की पुल र ४३ सडक अवरुद्ध भएका छन्। अवरुद्ध सडकहरू तत्काल खुलाउन जिल्लास्थित पूर्वाधार विकास कार्यालयहरूलाई निर्देशन दिइएको छ। चाडपर्व नजिकिँदै गर्दा सडक आवागमन सहज बनाउने विषयलाई सरकारले गम्भीरताका साथ लिएको छ।
मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरोला र बेंसीसहर–मनाङ सडक सञ्चालनमा ल्याउन संघीय सरकारसँग समन्वय भइरहेको छ। प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रुपैयाँ विनियोजन गरेको छ।
घरबारविहीन भएका नागरिकहरूको निजी आवास निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा रहेको संयुक्त कोषबाट मापदण्डअनुसार रकम निकासा गरिने सरकारले जनाएको छ। मौसम अझै प्रतिकूल हुन सक्ने भन्दै नागरिकहरूलाई सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रमा नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशनहरूको पूर्ण पालना गर्न अपिल गरिएको छ।
