काठमाडौं उपत्यकासहित देशभरि नै एलपी ग्यासको अभाव चुलिएको छ। गत सातादेखि सुरु भएको यो समस्या अहिले झन् विकराल बनेको छ। उपभोक्ताहरू खाली सिलिन्डर बोकेर दिनभर लाइनमा बस्न बाध्य छन्, तर १० दिनसम्म पनि एक सिलिन्डर ग्यास पाउन मुस्किल भएको छ।
नेपाल आयल निगमले वितरण सहज बनाउन प्रयास गरे पनि समस्या समाधान भएको छैन। निगमले आफ्नै कार्यालय परिसरबाट ग्यास वितरण गरिरहेको छ। यस अभावले सामान्य उपभोक्तादेखि होटल व्यवसायीसम्म ठूलो मारमा परेका छन्।
ग्यासको चरम अभावका कारण धेरैले विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्न थालेका छन् भने केही उपभोक्ता दाउरा बाल्न बाध्य भएका छन्। निगमले अनावश्यक सञ्चिति र आपूर्ति व्यवस्थापनमा समस्या भएकाले यस्तो अवस्था आएको भन्दै आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले निगमले व्यवस्थापकीय कमजोरी लुकाउन ‘उपभोक्ताले ग्यास थुपारेको’ भन्ने आरोप लगाएको भन्दै यसको खण्डन गरेका छन्। घरमा ग्यास स्टक भएको भए साउने झरीमा भिज्दै लाइन बस्नुपर्ने अवस्था नआउने उनको भनाइ छ।
तिमिल्सिनाले विगतमा भूकम्प र नाकाबन्दीजस्ता संकटमा समेत सहज व्यवस्थापन गर्नसकेको निगम अहिले आधाबाट पूर्ण सिलिन्डर (१४.२ किलो) मा रूपान्तरण गर्दा चुकेको टिप्पणी गरे। ग्यास आपूर्तिमा सधै समस्या देखिनुको मुख्य कारण नियमन गर्ने स्पष्ट कानुनको अभाव रहेको उनको भनाइ छ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले सरकारको नीतिका कारण बजारमा ग्यासको हाहाकार मच्चिएको दाबी गरे। ७.१ केजी (आधा सिलिन्डर) ग्यास बिक्री गर्ने नीति १५ दिनका लागि मात्र लागू गर्न सुझाव दिइए पनि सरकारले त्यसलाई लामो समयसम्म निरन्तरता दिँदा अहिलेको समस्या आएको बताए।
चन्दका अनुसार लामो समय आधा सिलिन्डर बेचेर एक्कासि १४.२ किलोको पूर्ण सिलिन्डर बजारमा पठाउँदा माग ह्वात्तै बढेको छ। ग्यास ढुवानी गर्ने बुलेट भारतीय नियन्त्रणमा रहनु र इन्डियन आयल कर्पोरेसन (आइओसी) ले दिने कोटा सीमित हुनुले पनि मागअनुसार तत्काल आपूर्ति बढाउन नसकिएको उनको भनाइ छ।
उनले आगामी १० देखि १५ दिनभित्र ग्यास आपूर्ति पूर्ण रूपमा सहज हुने प्रतिबद्धता जनाए। सामान्य अवस्थामा मासिक २८ हजार टन ग्यास खपत हुने गरेकोमा पूर्ण सिलिन्डर वितरण सुरु भएयता ३२ हजार टन खपत भएको तथ्यांक प्रस्तुत गरे। दैनिक ८० देखि ९० बुलेट आवश्यक पर्नेमा हाल बढाएर १२० बुलेटसम्म आयात भइरहेको जानकारी दिए।
