NM Khabar 14 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ग्यास अभावको चिन्ता नलिनुस्: मन्त्रालयले माग धान्न आयात बढायो

• उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको माग बढे पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ। • बजारको माग पूरा गर्न ग्यास बुलेटहरूको आयात बढाइएको छ र भारत सरकारसँग थप ग्यास मागिएको छ। • उपभोक्तालाई अनावश्यक स्टक नगर्न आग्रह गरिएको छ भने व्यवसायीलाई प्राथमिकता तोकेर वितरण गर्न निर्देशन दिइएको छ।
Sunita Rai
Sunita Rai
14 August 2026, 7:03 pm १ मिनेट पढाइ
आकार:
ग्यास आपूर्ति
Share:

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको मागमा चाप बढेर केही असहजता देखिएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ ।

शुक्रबार सिंहदरबारमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मन्त्रालयले विगतमा आधा सिलिन्डर (७.१ केजी) बाट पुनः पूरै सिलिन्डर (१४.२ केजी) मा जाँदा मागमा चाप बढेको स्वीकार गर्‍यो । तर, बजारको अभाव पूर्ति गर्न ग्यास बुलेटहरूको आयात बढाइएको मन्त्रालयले जनाएको छ ।

मासिक औसत ४९,५०० मेट्रिक टन आपूर्ति भइरहेकोमा आगामी ३ महिनाका लागि मासिक ६०,००० मेट्रिक टन ग्यास उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई अनुरोध गरिएको छ ।

सामान्य अवस्थामा दैनिक औसत १ लाख १० हजार सिलिन्डर बजारमा जाने गरेकोमा पछिल्ला दिनहरूमा दैनिक औसत १ लाख ३२ हजार सिलिन्डर पठाइएको छ ।

ग्यासको आपूर्ति नियमित भइरहेकाले उपभोक्तालाई अनावश्यक स्टक वा होर्डिङ नगर्न मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले आग्रह गरे । उनले आफूलाई आवश्यक परिमाणमा मात्र लिन समेत भने ।

सरकारले आधा सिलिन्डरमा जाने कुनै सोच नबनाएको भन्दै उनले पूरा सिलिन्डर नै सहज रूपमा वितरण गर्ने गरी तयारी र व्यवस्थापन अगाडि बढाइएको स्पष्ट पारे ।

मन्त्रालयले व्यवसायीहरूलाई एकल सिलिन्डर भएका, वृद्ध, अशक्त तथा सुत्केरीलाई प्राथमिकता दिएर वितरण गर्न अनुरोध गरेको छ । गलत मनसाय राख्नेलाई कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार