नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७ देखि २०३० सम्मको रणनीतिक सहकार्यमा उच्चस्तरीय छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगान नेतृत्वको टोलीबीचको बैठकमा आगामी चार वर्षको खोप सहयोग, सह–वित्तीय लगानी र कार्यक्रमको वित्तीय दिगोपनाबारे छलफल केन्द्रित रह्यो।
बैठकमा गाभीले आगामी अवधिका लागि नेपाललाई ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप तथा १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ। यस प्रस्तावित सहयोगअन्तर्गत नेपालले १ करोड ७१ लाख अमेरिकी डलर सह–वित्तीय लगानी गर्नुपर्ने विषयमा समेत छलफल भएको छ।
नेपाल र गाभीबीचको सहकार्य सन् २००१ देखि सुरु भएको हो। २५ वर्षको अवधिमा गाभीले नेपालमा ५५ करोड अमेरिकी डलरभन्दा बढी बराबरको खोप, कोल्ड चेन पूर्वाधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल गाभीले राष्ट्रिय खोप कार्यक्रममार्फत उपलब्ध हुने ११ खोपमध्ये ५ खोपमा सह–लगानी गर्छ। एक प्रकारको खोप भने निःशुल्क उपलब्ध गराउँछ।
परिवार कल्याण महाशाखाअन्तर्गतको राष्ट्रिय खोप कार्यक्रममार्फत नियमित खोपका साथै विभिन्न खोप अभियान सञ्चालनमा गाभीको सहयोग रहँदै आएको छ। विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोत घट्दै गएको अवस्थामा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई आगामी दिनमा कसरी दिगो बनाउने भन्ने विषयमा समेत गहन छलफल भएको थियो।
गाभीका प्रतिनिधिहरूले मन्त्री मेहताले खोप कार्यक्रममा देखाएको नेतृत्व र नेपालले हासिल गरेको प्रगतिप्रति प्रशंसा गरेका थिए। उनीहरूले आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
