मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

गाभीले नेपाललाई ३.९६ करोड डलर खोप र १.८ करोड डलर अनुदान प्रस्ताव

गाभीले नेपाललाई सन् २०२७-२०३० सम्मका लागि ३.९६ करोड डलर बराबरको खोप र १.८ करोड डलर नगद अनुदान दिने प्रस्ताव गरेको छ। यस सहयोगका लागि नेपालले १.७१ करोड डलर सह-वित्तीय लगानी गर्नुपर्नेछ। नेपाल र गाभीबीच २००१ देखि सहकार्य रहँदै आएको छ, जसमा गाभीले २५ वर्षमा ५५ करोड डलरभन्दा बढी सहयोग गरेको छ।
Bikram Magar
अन्तर्राष्ट्रिय संवाददाता
१ मिनेट पढाइ
आकार:
गाभी नेपाल सहयोग
Share:
१६२

नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७ देखि २०३० सम्मको रणनीतिक सहकार्यमा उच्चस्तरीय छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगान नेतृत्वको टोलीबीचको बैठकमा आगामी चार वर्षको खोप सहयोग, सह–वित्तीय लगानी र कार्यक्रमको वित्तीय दिगोपनाबारे छलफल केन्द्रित रह्यो।

बैठकमा गाभीले आगामी अवधिका लागि नेपाललाई ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप तथा १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ। यस प्रस्तावित सहयोगअन्तर्गत नेपालले १ करोड ७१ लाख अमेरिकी डलर सह–वित्तीय लगानी गर्नुपर्ने विषयमा समेत छलफल भएको छ।

नेपाल र गाभीबीचको सहकार्य सन् २००१ देखि सुरु भएको हो। २५ वर्षको अवधिमा गाभीले नेपालमा ५५ करोड अमेरिकी डलरभन्दा बढी बराबरको खोप, कोल्ड चेन पूर्वाधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल गाभीले राष्ट्रिय खोप कार्यक्रममार्फत उपलब्ध हुने ११ खोपमध्ये ५ खोपमा सह–लगानी गर्छ। एक प्रकारको खोप भने निःशुल्क उपलब्ध गराउँछ।

परिवार कल्याण महाशाखाअन्तर्गतको राष्ट्रिय खोप कार्यक्रममार्फत नियमित खोपका साथै विभिन्न खोप अभियान सञ्चालनमा गाभीको सहयोग रहँदै आएको छ। विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोत घट्दै गएको अवस्थामा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई आगामी दिनमा कसरी दिगो बनाउने भन्ने विषयमा समेत गहन छलफल भएको थियो।

गाभीका प्रतिनिधिहरूले मन्त्री मेहताले खोप कार्यक्रममा देखाएको नेतृत्व र नेपालले हासिल गरेको प्रगतिप्रति प्रशंसा गरेका थिए। उनीहरूले आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Bikram Magar

Bikram Magar

अन्तर्राष्ट्रिय संवाददाता

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार