सरकारले रोल्पा, जाजरकोट र बझाङका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले यो निर्णय गरेको हो।
प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली तीन दिनभित्र कार्यस्थलमा खटिनेछ। टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसमेत रहनेछन्।
मनसुनजन्य विपद्ले जनधनको क्षति बढाइरहेका बेला कमाण्ड पोष्टले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ।
रोल्पा, जाजरकोट र बझाङमा पहिरोबाट भएको क्षतिको गम्भीरतालाई मध्यनजर गर्दै प्रभावितलाई तत्काल राहत र उद्धार कार्यमा तीव्रता दिन आग्रह गरिएको छ। बैठकले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ अनुसार प्रभावित परिवारलाई नगद वा वस्तुगत राहत, मृतक राहत तथा घाइतेको निःशुल्क उपचार उपलब्ध गराउन जिल्ला प्रशासन, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई अनुरोध गरेको छ।
क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रवलीकरण, पुनर्निर्माण र पुनःस्थापनाको अनुदान प्रक्रिया तत्काल अघि बढाउन पनि निर्देशन दिइएको छ।
पहिरो तथा बाढीले अवरुद्ध भएका सडक, खानेपानी, सिँचाइलगायत अत्यावश्यक सेवा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। नदी कटान तथा पहिरो नियन्त्रण, स्वास्थ्योपचार र मनोसामाजिक परामर्श उपलब्ध गराउने कामलाई प्राथमिकता दिन भनिएको छ।
अधिकांश स्थानमा वर्षा भइरहेकाले पहिरोको जोखिम बढेको छ। सर्वसाधारणलाई मनसुन अवधिभर उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासनको सूचना पालना गर्न भनिएको छ।
