NM Khabar 4 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

आगामी पाँच वर्षमा विश्वले तापक्रम वृद्धिको नयाँ कीर्तिमान तोड्ने प्रक्षेपण

आगामी पाँच वर्षमा विश्वको औसत तापक्रमले नयाँ कीर्तिमान तोड्ने वा त्यसको नजिक पुग्ने विश्व मौसम संगठनको प्रक्षेपण छ। सन् २०२६-२०३० सम्ममा कम्तीमा एक वर्ष विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिपूर्वको स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी पुग्ने ९१% सम्भावना छ। आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्वव्यापी औसतभन्दा तीन गुणाले बढी हुनेछ।
Sarita Pandey
Sarita Pandey
4 June 2026, 5:17 am १ मिनेट पढाइ
आकार:
तापमान वृद्धि कीर्तिमान
Share:

आगामी पाँच वर्षभित्र विश्वको औसत तापक्रमले नयाँ कीर्तिमान राख्ने वा त्यसको नजिक पुग्ने देखिएको छ। विश्व मौसम संगठन (डब्लुएमओ) को प्रतिवेदनले आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्वव्यापी औसतभन्दा तीन गुणाले बढी हुने प्रक्षेपण गरेको छ।

बेलायतको ‘मेट अफिस’ ले तयार पारेको ‘एनुअल–टु–डेकाडल अपडेट’ प्रतिवेदनले सन् २०२६ देखि २०३० सम्म विश्वव्यापी वार्षिक औसत सतही तापक्रम औद्योगिक क्रान्ति हुनुअघिको (सन् १८५०–१९००) भन्दा १.३ देखि १.९ डिग्री सेल्सियसले बढी हुने आकलन गरेको छ।

अबको पाँच वर्षभित्रै मानव इतिहासकै सबैभन्दा तातो वर्ष बन्ने ८६ प्रतिशत सम्भावना छ। सन् २०२४ मा विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिपूर्वको स्तरभन्दा १.५५ डिग्री सेल्सियस बढी थियो।

प्रतिवेदनअनुसार सन् २०२६–२०३० को अवधिमा कम्तीमा एक वर्ष विश्वको औसत सतही तापक्रम औद्योगिक क्रान्तिपूर्वको औसतभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी पुग्ने सम्भावना ९१ प्रतिशत छ। यस अवधिमा औसत तापक्रम पनि १.५ डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना ७५ प्रतिशत छ। यद्यपि, कुनै एक वर्षमा तापक्रम वृद्धि २ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना भने एक प्रतिशतभन्दा कम छ।

प्रशान्त महासागरको मध्य उष्णकटीबन्धीय क्षेत्रमा एलनिनोको प्रभाव बढ्ने देखिएको छ। विशेषगरी २०२७ र २०२८ मा यसको सम्भावना बढी छ। ‘सन् २०२६ को अन्त्यतिर एलनिनो विकसित हुने पूर्वानुमान छ। यसले २०२७ मा तापक्रमको नयाँ कीर्तिमान कायम हुने सम्भावना बढाउँछ,’ प्रतिवेदनका प्रमुख लेखक लिओन हम्र्यान्सनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

यो प्रतिवेदन विश्वका १३ जलवायु अनुसन्धान तथा मौसमसम्बन्धी संस्थाका पूर्वानुमानमा आधारित छ। पेरिस सम्झौताले यो शताब्दीको अन्त्यसम्म विश्वको तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्ने लक्ष्य लिएको छ।

तापमान वृद्धिले यो सीमा नाघे–ननाघेको निर्क्योल दीर्घकालीन औसत तापक्रम वृद्धिको आधारमा गरिन्छ। सामान्यतया २० वर्षको अवधिमा यसलाई मूल्याङ्कन गरिन्छ। त्यसैले कुनै एक वर्ष मात्र १.५ डिग्रीभन्दा बढीले सरदर तापक्रम वृद्धि हुनुले पेरिस सम्झौताका लक्ष्यहरू असम्भव भइसकेका छन् भन्न मिल्दैन। तर, विश्वव्यापी तापक्रम निरन्तर बढ्दा यस्ता अस्थायी रूपमा सीमा नाघ्ने क्रम बारम्बार हुनसक्ने चेतावनी प्रतिवेदनले दिएको छ।

आगामी पाँच वर्षमा उत्तरी गोलार्धीय हिउँदे मौसममा आर्कटिक क्षेत्रको तापक्रम सन् १९९१–२०२० को औसतभन्दा २.८ डिग्री सेल्सियस बढी रहने अनुमान छ। यो विश्वव्यापी औसत तापक्रम वृद्धिको तुलनामा साढे तीन गुणाले बढी हो। सन् २०२६–२०३५ का लागि गरिएको समुद्री बरफको पूर्वानुमानले बारेन्ट्स, बेरिङ र ओखोट्स्क सागर क्षेत्रमा समुद्री बरफको मात्रा घट्ने संकेत दिएको छ।

आगामी पाँच जाडो मौसममा उत्तरी गोलार्धका उच्च अक्षांश क्षेत्रहरूमा औसतभन्दा बढी वर्षा हुने सम्भावना छ। प्रतिवेदनले उष्णकटीबन्धीय तथा उच्च अक्षांश क्षेत्रमा वर्षा बढ्ने र उपउष्णकटीबन्धीय क्षेत्रहरू, विशेषगरी दक्षिणी गोलार्धमा वर्षा घट्ने प्रवृत्ति देखिने आकलन गरेको छ।

सन् २०२६–२०३० को मेदेखि सेप्टेम्बरसम्म साहेल क्षेत्र, उत्तरी युरोप, अलास्का र साइबेरियामा सामान्यभन्दा बढी वर्षा तथा अमेजन क्षेत्रमा सामान्यभन्दा कम वर्षा हुने सम्भावना छ। दक्षिण–पूर्वी युरोपमा सन् २०२६–२०३० को बीचमा औसतभन्दा बढी वर्षा हुन सक्ने पूर्वानुमान छ, यद्यपि त्यस क्षेत्रको पूर्वानुमान क्षमता तुलनात्मक रूपमा कमजोर छ।

डब्लुएमओका अनुसार यी पूर्वानुमानहरू क्षेत्रीय जलवायु केन्द्रहरू, परामर्श मञ्चहरू तथा राष्ट्रिय मौसम निकायहरूका लागि मार्गदर्शनका रूपमा उपयोगी हुनेछन्।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार