देशभरका सरकारी अस्पतालमा थन्किएका बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गर्न सरकारले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच बुधबार यस विषयमा छलफल भएको हो।
मन्त्री मेहताको सचिवालयका अनुसार, देशभरका स्वास्थ्य संस्थामा रहेका उपकरणहरूको पहिचान गरी मर्मत सम्भार गर्नेबारे दुई पक्षीय समन्वय र सहकार्य गर्ने छलफल केन्द्रित थियो। सामान्य प्राविधिक समस्याले थन्किएका उपकरणहरूलाई तत्काल सञ्चालनमा ल्याउने योजना छ।
यसअघि अघिल्लो सरकारको पालामा तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि यस्तै जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रलाई दिएका थिए। मन्त्री मेहताको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारी अस्पतालहरूमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत सम्भार गरी सञ्चालनमा ल्याउने गरी समन्वय र सहकार्य गर्ने सम्बन्धमा माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताज्यू र माननीय महावीर पुन ज्यूबिच छलफल भएको छ।’
