सरकारले आगामी पाँच वर्षभित्र डेंगी संक्रमणदर ६० प्रतिशतले घटाउने र मृत्युदरलाई ०.०१ प्रतिशतभन्दा कममा झार्ने लक्ष्यसहित बहुक्षेत्रीय योजना तयार पारेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको यो योजनामा सङ्घीय, प्रदेश र स्थानीय सरकारका सबै निकायलाई डेंगी रोकथाम र नियन्त्रणमा सहभागी गराइनेछ।
रोगको फैलावट निगरानी गर्न सबै संयन्त्र प्रयोग गरिनेछ। जोखिमपूर्ण क्षेत्रका जनतालाई लामखुट्टेको प्रवेश हुनुअघि नै सचेत गराउने ‘पूर्वचेतावनी प्रणाली’ सुदृढ गरिनेछ। डेंगीवाहक लामखुट्टेको प्रवेश थाहा हुनेबित्तिकै प्रतिकार्य सक्रिय पार्न ‘एकीकृतवाहक निगरानी प्रणाली’लाई प्रभावकारी र दिगो बनाइने लक्ष्य छ।
लामखुट्टेको प्रजनन क्षमता नष्ट गर्न हरेक हप्ता विशेष सरसफाइ गर्ने गरी ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरिनेछ। विभिन्न जोखिमपूर्ण क्षेत्रमा ‘शून्य सहिष्णुता क्षेत्र’ घोषणा गरिनेछ। पार्कलगायतका क्षेत्रमा पानी जम्ने स्थानमा सरसफाइ कडाइसाथ लागू गरिनेछ। ट्याङ्कीमा पानी भण्डारण गर्नुको सट्टा पाइपको पानी उपभोग गर्ने बानीलाई प्रोत्साहन गरिनेछ।
जलाशयहरूमा लार्भा खाने माछाको सङ्ख्या बढाउने र अति आवश्यक स्थानमा लामखुट्टे नष्ट गर्ने रसायन छर्कने गतिविधि पनि योजनामा समेटिएका छन्। विश्वव्यापी तापक्रम वृद्धिसँगै केही वर्षअघिसम्म तराईमा मात्र सीमित रहेको डेंगी गत वर्ष देशभरका ७७ जिल्लामा फैलियो। यस वर्ष हालसम्म ६८ जिल्लामा ९१५ जनामा संक्रमण देखिएको छ, जसमध्ये एक जनाको मृत्यु भएको छ।
कीटजन्य रोग शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालका अनुसार विगत तीन वर्षयता मनसुनसँगै डेंगी संक्रमितको संख्यामा वृद्धि भई कतिपय जिल्लामा प्रकोपको रूपमा देखा परिरहेको छ। विगत पाँच महिनामा (सन् २०२६ को जनवरीदेखि) सुनसरी, चितवन, काठमाडौं, झापा, मोरङ, रुपन्देही, कञ्चनपुर, मकवानपुर, ओखलढुङ्गा र सिन्धुलीमा डेंगी देखिएको छ।
रोग फैलिन नदिन सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकको नेतृत्वमा राष्ट्रिय ‘डेंगी टास्क फोर्स’ गठन गरेको छ। महाशाखाको अनुगमनका आधारमा पुस २०८२ यता बिरामी बढेका १९ स्थानीय तहलाई सतर्क रहन परिपत्र गरिएको छ। थप १० स्थानीय तहलाई परिपत्र गर्ने तयारी छ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले पत्ता लगाउने द्रुत परीक्षण कीट स्वास्थ्य सेवा विभागमा आठ हजार थान रहेको बताए। थप ३० हजार कीट खरिद प्रक्रिया अन्तिम चरणमा छ। डेंगी निदान तथा केस व्यवस्थापनसम्बन्धी स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि भर्चुअल र भौतिक माध्यमबाट तालिम तथा अभिमुखीकरण गर्ने योजना छ।
सरकारले डेंगीबाट हुने मृत्युको जोखिम कम गर्न निजी र सरकारी अस्पतालका एक हजार ७०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरी अस्पताललाई तयारी हालतमा राखेको छ। स्थानीय स्तरमा रोकथामका लागि श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’का रूपमा मनाउने योजना छ। यसमा लामखुट्टेको बासस्थान खोजी, लार्भा नष्ट गर्ने अभियान, बहुक्षेत्रीय समन्वय र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
चालु आर्थिक वर्ष ०८२/८३ मा ४५० स्थानीय तह र ७७ जिल्लामा लामखुट्टेको बासस्थान खोजी तथा नष्ट गर्ने अभियानका लागि पाँच करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेंगी नियन्त्रण सम्भव नहुने भएकाले व्यापक समुदाय परिचालन र बहुक्षेत्रीय संलग्नता आवश्यक रहेको डा. दाहालले बताए।
