NM Khabar 20 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जोखिमयुक्त बस्तीका विस्थापितलाई मासिक १५ हजार राहत दिने सरकारको निर्णय

सरकारले जोखिमयुक्त बस्तीका विस्थापित परिवारलाई मासिक १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। पाँच जनाभन्दा बढी सदस्य भएका परिवारलाई थप २ हजार रुपैयाँ र पुनर्स्थापना खर्चबापत प्रतिपरिवार २५ हजार रुपैयाँ एकमुष्ट उपलब्ध गराइनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
20 May 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
Share:

सरकारले जोखिमयुक्त बस्तीबाट विस्थापित हुने परिवारलाई मासिक १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले वैकल्पिक बसोबासका लागि तीन महिनासम्म राहत दिने निर्णय गर्‍यो। यो राहत पाँच सदस्यीय परिवारका लागि लागू हुनेछ।

पाँच जनाभन्दा बढी सदस्य भएका परिवारलाई मासिक थप दुई हजार रुपैयाँ उपलब्ध गराइनेछ। जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरेपछि प्रतिपरिवार २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च एकमुष्ट दिइनेछ।

वृद्ध, अशक्त, असहाय तथा आफैं बसोबासको व्यवस्था गर्न नसक्ने व्यक्ति र परिवारलाई सरकारले तोकिएको होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाइनेछ। मन्त्रिपरिषद्ले बालबालिका तथा विद्यार्थीको पठनपाठन, विद्यालय तथा स्वास्थ्य सेवाको निरन्तरताका लागि स्थानीय तहसँग समन्वय गर्ने निर्णय समेत गरेको छ।

बैठकले नगरपालिका राजश्व अभिवृद्धि परियोजनाका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्र्याङ्क अनुदान स्वीकार गर्ने निर्णय गर्‍यो। अरनिको राजमार्गको मर्मत तथा सुधारका लागि चीन सरकारले उपलब्ध गराउने ७९.३६ मिलियन आरएमबी अनुदान पनि स्वीकार गरिएको छ।

प्रत्यायन नियमावली, २०८३ र सैनिक सेवा छैटौं संशोधन नियमावली, २०८३ स्वीकृत गरियो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

मन्त्रिपरिषद्ले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ अनुसार राजपत्रांकित विशिष्ट श्रेणीका सचिवहरूको दरबन्दी मिलान तथा पदस्थापन गर्ने निर्णय समेत गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार