NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा: ५० लाखको चेक सटहीमा सहयोगको आरोप

• अख्तियारले घुस प्रकरणमा सरकारी साक्षी बनेकी महिलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। • उनीमाथि ५० लाख रुपैयाँको चेक सटहीमा सहयोग गरेको आरोप छ। • विशेष अदालतमा मुद्दा दर्ता भएसँगै सरकारी साक्षीको विश्वसनीयतामाथि प्रश्न उठेको छ।
Arjun Basnet
Arjun Basnet
12 May 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
सरकारी साक्षी भ्रष्टाचार मुद्दा
Share:

घुस प्रकरणमा सरकारी साक्षी बनेकी एक महिलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। बारपाक सुलिकोट गाउँपालिका–७ घर भई हाल काठमाडौंको चन्द्रागिरि–५ बस्ने सुमित्रा कुमारी घिमिरे पुडासैनीलाई विशेष अदालत काठमाडौंमा प्रतिवादी बनाइएको हो।

यसअघि चन्द्रबहादुर अधिकारीसमेत प्रतिवादी रहेको घुस/रिसवतसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा सहयोग गरेको भन्दै पुडासैनीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो।

तर, वैशाख ९ गते विशेष अदालतमा दिएको बकपत्र आयोगसमक्ष अनुसन्धानका क्रममा दिएको बयान र मागदाबीविपरीत पाइएपछि अख्तियारले थप अनुसन्धान गरेको थियो।

अनुसन्धानबाट चन्द्रबहादुर अधिकारीले लिएको घुस रकमको ५० लाख रूपैयाँ बराबरको चेक ‘सुमित्रा कस्मेटिक एण्ड फेन्सी’का नाममा काटिएको र उक्त फर्मकी सञ्चालक पुडासैनीलाई उपलब्ध गराइएको खुलेको छ।

आयोगका अनुसार पुडासैनीले रकम सटहीका लागि बैंकमा लगेको तर चेक सटही नभएपछि फिर्ता गरेको पाइएको छ। आयोगले यसलाई घुस/रिसवत लिने कार्यमा सहयोग पुर्‍याएको कसुर मानेको छ।

उक्त कार्यबाट उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (२) बमोजिमको कसुर गरेको पुष्टि भएको आयोगको निष्कर्ष छ। आयोगले उनीविरुद्ध ५० लाख रूपैयाँ बिगो कायम गर्दै सोही ऐनबमोजिम कैद र बिगोअनुसार जरिवानाको मागदाबी गर्दै आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार