विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनवर्गले जलवायु परिवर्तनबाट विपद् खेपिरहेको नेपालका लागि अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग गरेकी छन्। भिडियो अपिलमा थनवर्गले नेपाललाई दिइने सहयोगलाई ‘सहायता’ वा ‘उदारता’ नभई जलवायु क्षतिपूर्तिको रूपमा बुझ्नुपर्ने बताइन्।
उनका अनुसार विकसित मुलुकहरूले जलवायु परिवर्तनबाट सिर्जित क्षतिको जिम्मेवारी लिँदै नेपालजस्ता देशलाई क्षतिपूर्ति दिनुपर्छ। ‘नेपाललाई दिइनुपर्ने रकम सहायता होइन, जलवायु ऋण हो,’ थनवर्गले भनिन्। जलवायु संकटबाट भएको क्षतिको बदलामा दिइने रकमलाई विकसित देशहरूले उपहारका रूपमा हेर्न नहुने उनको भनाइ छ।
थनवर्गले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालजस्ता देशको चर्चा हुने गरे पनि निर्णय प्रक्रियामा उनीहरूको आवाज नसुनिने बताइन्। नेपाललाई ‘केस स्टडी’का रूपमा मात्र प्रस्तुत गर्ने होइन, निर्णय हुने ठाउँमै आवाज सुनिश्चित गर्न आवश्यक छ।
नेपालमा भइरहेको मानवीय क्षति र जनजीविकामा परेको असरलाई बेवास्ता गर्न नहुने भन्दै उनले आफू र विश्वव्यापी जलवायु न्याय आन्दोलन नेपाली जनतासँग उभिने घोषणा गरिन्। उनले संकटबाट प्रभावित समुदायप्रति पनि ऐक्यबद्धता व्यक्त गरिन्।
थनवर्गले नेपालले जलवायु संकट सिर्जनामा नगण्य भूमिका खेले पनि असर भोगिरहेको उल्लेख गर्दै विकसित विश्वलाई जिम्मेवारी पूरा गर्न आग्रह गरिन्। ‘यो नेपालले विश्वलाई आफूले सिर्जना नगरेको समस्याको सफाइ गरिदिन आग्रह गरेको होइन,’ उनको अपिल छ, ‘नेपालले आफूले नबनाएको समस्याको सामना गरिरहेको छ।’
उनले ‘नेपालका लागि न्याय’ माग गर्दै विश्व समुदायलाई जलवायु संकटको जिम्मेवारी र क्षतिपूर्तिको प्रश्नलाई गम्भीरतापूर्वक लिन आह्वान गरिन्।
