भियतनामको राजधानी हनोईको डोङ डा जिल्लामा रहेको एक रेस्टुरेन्टमा मंगलबार बिहान भएको विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार, बिहान ८ बजे (०१:०० जीएमटी) भएको उक्त विस्फोटमा १० जना घाइते भएका छन्। उद्धारकर्मीहरूले भग्नावशेषमुनि थप मानिस फसेको हुन सक्ने भन्दै खोजी गरिरहेका छन्।
भियतनामको सार्वजनिक सुरक्षा मन्त्रालयले विस्फोट खाना पकाउने ग्याससँग सम्बन्धित रहेको विश्वास गरेको छ। विस्फोटका कारण नजिकका भवन तथा घरहरूमा ठूलो क्षति पुगेको छ, झ्यालका सिसा फुटेका छन् र धातुका सटरहरू उखेलिएका छन्।
विस्फोट भएको रेस्टुरेन्ट एक अपार्टमेन्ट भवनको भुइँ तल्लामा थियो र लगभग पूर्ण रूपमा भत्किएको छ। स्थानीय पत्रिका भिएटनामनेटलाई एक प्रत्यक्षदर्शीले विस्फोट ‘कानै खाने’ खालको भएको र ‘प्रकाशको चमकसँगै ढोका, सिसा र वरपरका सबै चिज हावामा उडेका’ बताए।
विस्फोटपछि दर्जनौं दमकलकर्मी र अन्य उद्धारकर्मी घटनास्थलमा खटिएका छन्। उनीहरूले चार घण्टाभन्दा बढी समयदेखि भग्नावशेष पन्छाउँदै खोजी कार्य गरिरहेका छन्। अधिकारीहरूले संरचनात्मक रूपमा असुरक्षित मानिएका नजिकका भवनहरूबाट मानिसहरूलाई सुरक्षित स्थानमा सारेका छन्।