राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचनाका लागि तयार पारेको मार्गचित्र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतालाई बुझाएको छ। रास्वपा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा तोसिमा कार्कीले मन्त्रालयमा मन्त्री मेहतालाई उक्त मार्गचित्र हस्तान्तरण गरेकी हुन्।
मन्त्री मेहताले रास्वपाको बाचापत्रमा उल्लेख भएअनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गरिने बताइन्। डा कार्कीका अनुसार पार्टीको गत फागुनको निर्वाचनको बाचापत्रमा समेटिएको प्रतिबद्धता कार्यान्वयन गर्न यो मार्गचित्र बुझाइएको हो।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बिमा कार्यक्रमको व्यापक पुनर्संरचनाको उल्लेख गरेका छन्। बजेटको यो प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान मन्त्री मेहतालाई वाचापत्र बुझाइएको डा कार्कीले जनाइन्।
उनले स्वास्थ्य बिमा ऐनमा नै केही महत्त्वपूर्ण विषय संशोधन गर्नुपर्ने आवश्यकता औंल्याइन्। रास्वपा पार्टी स्वास्थ्य बिमा कार्यक्रमलाई सफल, सबल, सुदृढ र प्रभावकारी बनाउन कटिबद्ध रहेको उनको भनाइ छ।
पार्टीले स्वास्थ्य बिमाको यथास्थिति, समस्या, रूपान्तरण, पुनर्संरचना र स्रोत व्यवस्थापनबारे सरोकारवालासँग छलफल तथा अध्ययन गरी यो मार्गचित्र तयार पारेको हो।
