मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

भारी वर्षाले राजमार्ग अवरुद्ध: यात्रा जोखिमपूर्ण

देशभर भइरहेको लगातारको वर्षाले मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। बाढी, पहिरो र लेदो खस्दा यातायात ठप्प छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
राजमार्ग अवरुद्ध
Share:
१५८

देशभर भइरहेको लगातारको वर्षाले मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७:०० बजेसम्म बाढी, पहिरो र लेदो खस्दा विभिन्न स्थानमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ। बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म यातायात बन्द रहनेछ। बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म भने सवारीसाधन सुचारु हुनेछन्।

मकवानपुरस्थित कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ। बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म यातायात बन्द रहनेछ।

इलाम नगरपालिका-९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलोमा सडक माथिबाट पहिरो खसेर अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। सोही गाउँपालिका-२ कोदारीस्थित ईकु पहिरोमा पनि सडक माथिबाट ढुंगा र माटो सहितको लेदो खस्दा बाटो बन्द छ।

बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरस्थित कालीगण्डकी करिडोर सडक खण्डमा माथिबाट ढुंगा र माटोसहितको पहिरो खसेका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामासाघु-रामेछाप राजमार्गमा तामाकोशी खोलाको पानीको बहाव बढेर कटान गर्दा सडक अवरुद्ध भएको छ। खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालयको परिसरबाट वैकल्पिक बाटो भने खुलाइएको छ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका-३ कुलुङमा पहिरो जाँदा पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ। उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशुली नदीले सडक मुनीबाट कटान गरेपछि त्रिशुली मैलुङ स्याफ्रुबेँसी जाने कच्ची सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

मुगुको छायानाथ रारा नगरपालिका-७ पिना खोलास्थित नाग्म-गमगडी सडक खण्डमा माथिबाट ढुङ्गासहितको पहिरो निरन्तर खसिरहेका कारण बाटो पूर्ण रूपमा अवरुद्ध छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार