देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमतर्फ नेपाल नजिकै छ। उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि प्रभाव छ। यसले देशका विभिन्न प्रदेशमा आंशिकदेखि सामान्य बदली गराएको छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा हुनेछ। देशको पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा वर्षा हुनेछ। मधेस प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी भूभागमा पनि भारी वर्षा हुनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण ती क्षेत्रहरूमा बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम बढ्ने सम्भावना छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, यातायात तथा उद्धार कार्यमा समेत असर पर्न सक्ने भएकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ।
