कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनी वायुको प्रभाव छ।
महाशाखाका अनुसार मधेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत पूर्वानुमान गरिएको छ। दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ।
पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनेछ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा पनि यस्तै वर्षाको सम्भावना छ।
राति देशभर अधिकांश बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा पनि यस्तै वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना छ।
कोशी प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षा हुनेछ। मधेश र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
मौसमविद् विनोद पोखरेलका अनुसार, पहाडी भेगमा राम्रो वर्षा भए पनि तराईका अधिकांश ठाउँ सुक्खा छन्। उनले फेसबुकमा लेखेका छन्, ‘मंगलबारदेखि तराईको धेरै ठाउँमा पानी पर्ने सम्भावना राम्रो छ।’ देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यूनचापीय रेखा पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा छ। पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ।
