कोशी र मधेस प्रदेशका तराई भेगमा आगामी दुई दिन भारी वर्षाले बाढी र डुबानको जोखिम निम्त्याउने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो सम्भावना औंल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानले आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अत्यधिक वर्षा हुने देखाएको छ। देशका हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा भारी वर्षाको अनुमान छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश क्षेत्रमा पनि भारी वर्षा हुनेछ।
अत्यधिक वर्षाले आकस्मिक बाढी, पहिरो, डुबान र नदी कटानको जोखिम बढाउनेछ। प्राधिकरणले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न सुझाव दिएको छ। जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा विशेष सतर्कता अपनाउन भनिएको छ। यी जिल्लामा रातिको सवारी आवागमनमा उच्च सावधानी अपनाउनुपर्नेछ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएकी छन्। राजमार्ग र सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न भनिएको छ। पूर्वसूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ।
नदी तथा खोलाको तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान र खोला किनारका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन अनुरोध गरिएको छ। विपद्सम्बन्धी सूचना र आपत्कालीन सहयोगका लागि हटलाइन सेवा उपयोग गर्न भनिएको छ। जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न सबैलाई अनुरोध गरिएको छ।
