मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

भारी वर्षाको पूर्वानुमान: सरकारले सम्भावित जोखिम न्यूनीकरणको तयारी थाल्यो

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा र उच्च हिमाली भेगमा हिमपातको पूर्वानुमान गरेको छ। यसबाट सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारले तयारी थालेको छ। गृहमन्त्री सुधन गुरुङ र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले मौसम विभागमा पुगेर अवस्थाबारे जानकारी लिएका छन्।
Sarita Pandey
नीति संवाददाता
१ मिनेट पढाइ
आकार:
भारी वर्षाको तयारी
Share:
१३५

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा हिमपातको पूर्वानुमान गरेको छ। यस सन्दर्भमा सरकारले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी थालेको छ।

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मौसम विज्ञान विभाग पुगेर महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतसँग मौसमको अवस्था र सम्भावित जोखिमबारे जानकारी लिएका छन्। मौसमविद्हरूले न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’मा परिणत भएको र यसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने बताएका छन्।

विभागका अनुसार पहाडी तथा तराई क्षेत्रमा डुबान, कटान र पहिरोको जोखिम बढ्न सक्नेछ। हालसम्मको अवस्था हेर्दा लुम्बिनी र गण्डकी प्रदेशमा वर्षाको मात्रा बढी हुने सम्भावना छ। विभागले जोखिमयुक्त क्षेत्र पहिचान गरी उच्च सतर्कता अपनाउन र हिमाली क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ। विपद् प्राधिकरणसँग नियमित सूचना आदानप्रदान भइरहेको र सम्बन्धित निकायबाट आवश्यक तयारी पनि भइरहेको जानकारी प्राप्त भएको छ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उच्च सतर्कता अपनाउन सम्बन्धित निकाय र सर्वसाधारणलाई आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक उक्त अवधिमा टाढा तथा रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको छ। संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई पूर्वसूचना दिने र सम्भावित विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका आवश्यक उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई प्राधिकरणले निर्देशन दिएको छ। यसैबीच, बाढीका कारण अवरुद्ध बनेको धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्मको सडकखण्ड यही असोजभित्रै सञ्चालनमा ल्याउने गरी पुनर्निर्माण तीव्र पारिएको छ। नेपाली सेनाले विदुरमा सडकखण्डमा नयाँ ट्रयाक खोल्न ब्लास्टिङको काम सुरु गरिसकेको छ।

Sarita Pandey

Sarita Pandey

नीति संवाददाता

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार