बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आज भारी वर्षाको सम्भावना छ। मनसुनी वायुको प्रभाव र नेपाल नजिक रहेको न्यून चापीय रेखाका कारण यस्तो सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशभर सामान्य बादल लाग्नेछ। हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ्गसहितको वर्षा र हिमपातको सम्भावना छ। राति तराईका भू-भागमा आंशिक बादल रहनेछ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेश, कोशी र बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहितको वर्षाको सम्भावना छ।
वर्षापछि गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयको जोखिम बढ्नेछ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पार्न सक्नेछ। विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ।
