कोसी र वाग्मती प्रदेशको पहाडी भूभागमा आज अति भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले यस्तो पूर्वानुमान गरेको हो। काठमाडौं उपत्यकामा भोलिसम्म भारी वर्षाको सम्भावना छ।
मनसुनी वायु सक्रिय भएसँगै देशका धेरै स्थानमा वर्षाको सम्भावना छ। मनसुनको न्यूनचापीय रेखा तराई भूभागनजिक रहेकाले वर्षाको सम्भावना बढेको हो। हाल देशभर मनसुनी वायुको प्रभाव छ।
विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बादल लाग्नेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा धेरै वर्षाको सम्भावना छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा वर्षा हुनेछ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी क्षेत्रमा पनि वर्षा हुनेछ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बादल लाग्नेछ। कोसी र वाग्मती प्रदेशका हिमाली भूभागमा धेरै स्थानमा वर्षा हुनेछ। गण्डकी प्रदेशको हिमाली क्षेत्रमा केही स्थानमा वर्षाको सम्भावना छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा वर्षाको पूर्वानुमान छ।
लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा वर्षा हुनेछ। कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।
कोसी र वाग्मती प्रदेशको पहाडी र तराई भूभाग तथा मधेस प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
कोशी र वाग्मती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ। काठमाडौंसहित देशका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ।
जलवायुविज्ञ धर्मराज उप्रेती मनसुनी वायु सक्रिय हुँदा वर्षा बलियो भएको बताउँछन्। तर, देशको सबै भागमा एकनासको वर्षा नभएको उनको भनाइ छ।
“कोसी प्रदेशको ठाउँ–ठाउँमा भारी वर्षा भएको छ। धरान र चितवनतिर पनि भारी वर्षा हुँदै गरेको देखिन्छ,” उप्रेतीले फेसबुकमा लेखेका छन्। “काठमाडौंको मध्य भाग र बालाजुतिर मध्यम वर्षा बिहान १०–११ बजेसम्म रहनेछ।”
काठमाडौंमा दिउँसो वर्षा केही कम भए पनि साँझदेखि भोलिसम्म भारी वर्षाको सम्भावना छ। यो वर्षा काठमाडौं वरिपरि फैलिँदै गएको उनले बताए।
“कैलालीको चुरे क्षेत्रमा मध्यम वर्षाले पथरिया नदीको जलसतह बढेको छ। धनगढी पश्चिम कञ्चनपुरसम्म खासै वर्षा भएको छैन,” जलवायुविज्ञ उप्रेती भन्छन्। “तर, कैलालीको पूर्वी भाग लम्किचुवामा मध्यम वर्षा हुँदै छ। कोहलपुर, दाङमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।”
उनका अनुसार देशको पूर्वी भागमा आज र भोलि मनसुन सक्रिय रहनेछ। बाढी, डुबान र पहिरोको जोखिम हुनसक्ने भएकाले सतर्कता आवश्यक छ।
