ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि असोज ११ गतेसम्म देशभर भारी वर्षा, बाढी र पहिरोको जोखिम रहेको जनाएको छ। मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले प्रणालीको निरन्तर अनुगमन गरिरहेका छन्। सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार बाढीको पूर्वजानकारीका लागि टोल फ्री नं ११५५ सञ्चालनमा छ।
बाढी र मौसमसम्बन्धी सूचनाका लागि Nepal Flood Alert तथा Nepal Weather Forecast को फेसबुक पेज र hydrology.gov.np, dhm.gov.np वेबसाइटहरूबाट बुलेटिन प्राप्त गर्न सकिनेछ।
विपद् पूर्वतयारी प्रभावकारी बनाउन बाढी पूर्वानुमानको समयावधि विस्तार गरिएको छ। असोज ७ गतेदेखि प्रमुख नदीमा पूर्वानुमान तीन दिनबाट बढाएर पाँच दिन पुर्याइएको छ।
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम पूर्वानुमान एक दिनबाट बढाएर ४८ घण्टासम्म विस्तार गरिएको छ। यसले पूर्वतयारी र प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा छ।
