जल तथा मौसम पूर्वानुमान महाशाखाले २३ जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना भन्दै ‘रातो’ (रेड अलर्ट) सूचीमा राखेको छ। बाढीपहिरो र डुबानको उच्च जोखिममा रहेका जिल्लालाई तत्काल प्रतिकार्य तथा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय भएसँगै बाढीपहिरो र डुबानको जोखिम बढेको जनाएको छ। महाशाखाले आज र भोलि उपत्यकामा अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेको छ। यसले उपत्यकाका उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।
कार्यालयले सकेसम्म राति यात्रा नगर्न, अत्यावश्यक भएमा मौसमी विवरण अद्यावधिक गर्न र सडकको अवस्थाबारे स्थानीय प्रशासनबाट पूर्वजानकारी लिएर मात्र सवारीसाधन सडकमा निकाल्न सूचना जारी गरेको छ।
