मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

इलाममा अदुवाको भाउ छोइयो, किसान दोब्बर आम्दानीमा

इलामका किसानले अदुवाको बच्चा र माउ दुवैमा आकर्षक मूल्य पाएपछि खेती विस्तार गरेका छन्। यसले दोहोरो आम्दानीको ढोका खोलेको छ। माङसेबुङ गाउँपालिकाका देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार कमाए।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
इलाम अदुवा खेती
Share:
१५२

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पारे । अदुवाको बच्चा प्रतिमन (४० केजी) रु चार हजार ५०० का दरले बिक्री गरेका छन् । “गत वर्ष अदुवाको मूल्य थियो, उत्पादन पनि मनग्य भएकाले आम्दानी पनि प्रशस्त भयो,” उनले भने ।

पाँच रोपनीमा अदुवाखेती गरी ९० मन उत्पादन गरेका लिम्बूले २० मन बीउका लागि राखेर बाँकी बिक्री गरे । उनले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष २० मन बीउ रोपेका छन् । “पोहोरकै जस्तो मूल्य आयो भने यस वर्ष पाँच लाख बढी आम्दानी गर्नेछु,” उनले बताए ।

माङसेबुङ–२ कै अर्का किसान राजकुमार राईले गत वर्ष अदुवा बेचेर रु दुई लाखभन्दा बढी आम्दानी गरेका छन् । ५० मन अदुवा रु चार हजार प्रतिकमनका दरले बेचेका उनले यस वर्ष २० मन बीउ रोपेका छन् । “परिवारको घरखर्च र छोराछोरीको पढाइ खर्च अदुवाको आम्दानीले नै धान्ने गरेको छ,” उनले भने, “यस वर्षदेखि खेती बढाएकाले आउँदो वर्षदेखि केही रकम बचत हुनसक्छ ।”

माङसेबुङ–३ का किसान तेजु राईले यस वर्ष ६० मन अदुवा रोप्नुभएको छ । दश रोपनीमा व्यावसायिक खेती थालेका उहाँले यसअघि १० मन बीउ माटोमा उपयोग गरे । जिल्लाका किसान अदुवाप्रति आकर्षित भएकाले आफू पनि व्यावसायिक खेतीतर्फ अग्रसर भएको उनी बताउँछन् । आकर्षक आम्दानीका कारण धान र अन्य खेती छाडेर किसान अदुवाखेतीमा लागेको उनको कथन छ ।

उत्पादनका बेला प्रतिमन रु चार हजार ५०० सम्म पुगेको अदुवाको भाउ अहिले माउ अदुवामा प्रतिमन रु सात हजारसम्म पुगेको छ । बच्चा र माउको मनासिव मूल्य पाएपछि किसानहरु अदुवाखेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

स्थानीय व्यापारी राम जवेगूका अनुसार माउ अदुवा झापाको धुलाबारीमा प्रतिमन रु सात हजारसम्म बिक्री हुने गरेको छ भने इलाममा छ हजारमा किनबेच भइरहेको छ । “बच्चाबाट छुट्टै र माउबाट छुट्टै आम्दानी हुने भएकाले किसानलाई दोहोरो फाइदा छ,” उनले भने ।

यहाँका किसानले ठूलो (भैँसे), मझौला र साना गरी तीन किसिमका अदुवाखेती गर्दै आएका छन् । भदौसम्म माउ अदुवाको बिक्री हुने गर्छ भने अदुवाको मुख्य उत्पादन कात्तिकदेखि जेठसम्म हुन्छ ।

जिल्लाको मुख्य व्यापारिक केन्द्र इलाम बजारका साथै बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानबारी, हर्कटे लगायतका बजारमा यहाँको अदुवा खपत हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार इलाममा तीन हजार २२१ हेक्टर क्षेत्रफलमा व्यावसायिक अदुवाखेती हुँदै आएको छ । गत वर्ष यहाँ ५० हजार ६२० मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार