NM Khabar 8 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

इलाम-राजदुवाली सडक अवरुद्ध: महँगी र यात्रुलाई सास्ती

इलाम-राजदुवाली सडकखण्ड एक महिनादेखि पहिरोका कारण अवरुद्ध छ। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीको मूल्य दोब्बरभन्दा बढीले बढेको छ। बिरामी र ज्येष्ठ नागरिकलाई सुरक्षाकर्मीको सहयोगमा पैदल वारपार गराइँदैछ।
Kamala Devi
Kamala Devi
8 August 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
इलाम राजदुवाली सडक
Share:

मेची राजमार्गअन्तर्गत इलाम-राजदुवाली सडकखण्ड पहिरोका कारण एक महिनादेखि अवरुद्ध छ। असार २३ गते इलाम नगरपालिका-९ मा पहिरो खसेपछि सडक सञ्चालनमा आउन सकेको छैन।

पहिरोसहित लेदो खसेर सडक भासिएकाले खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए। वर्षाले दलदल भएकाले काम गर्न समस्या छ। तीन-चार दिन घाम लागेपछि मात्र काम सुरु हुने उनको भनाइ छ। घाम लागे पनि पानी परेर सडक पुनः भासिने समस्याले काम अघि बढ्न सकेको छैन।

सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली सडक खुलाउन लागिपरेको छ। डिभिजन प्रमुख पवन भट्टराईले अलिकति पानी पर्नासाथ सडक भासिने प्रमुख समस्या रहेको बताए।

सडक अवरुद्ध भएपछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्क विच्छेद भएको छ। सवारीसाधन माइखोला वारिसम्म र माइखोलापारीसम्म मात्र सञ्चालन भइरहेका छन्। यात्रुले करिब डेढ किलोमिटर पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। बिरामी, अशक्त र ज्येष्ठ नागरिकलाई सुरक्षाकर्मीले स्टेचरमा बोकेर माइखोला पारी पुर्‍याउन सहयोग गरिरहेका छन्।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बिरामी तथा अशक्तलाई पहिरो प्रभावित क्षेत्रमा वारपार गराउन सहयोग गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दले बताए। प्रहरी निरीक्षक देविदत्त मोतेको नेतृत्वमा खटिएको प्रहरी टोली २४सै घण्टा पहिरो प्रभावित क्षेत्रमा खटिएको छ। प्रहरीले असार १७ गतेदेखि सो क्षेत्रमा हेल्पडेक्स स्थापना गरी सहयोग गर्दै आएको छ।

वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची करिडोरअन्तर्गत पुवाखोला र तिल्केनी-सिमलगोलाई सडकअन्तर्गत जोगमाइ खोलामा पुल नहुँदा समस्या थपिएको छ। वर्षायाममा अस्थायी डाइभर्सन बगाउने गरेकाले इलामबाट झापा झर्ने कुनै वैकल्पिक सडक नरहेको प्रजिअ ढकालले उल्लेख गरे।

सडक अवरुद्ध हुँदा निर्माण सामग्रीसहित दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको छ। सामान्य अवस्थामा प्रतिकिलो रु दुई सयमा आउने सामान अहिले रु पाँच सयदेखि छ सयसम्म पुगेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले बताए। ठूला सवारीसाधन कुद्न नसक्दा साना गाडीबाट ढुवानी गर्नुपरेकाले लागत बढेको हो।

इलाममा खाना पकाउने ग्यासको अभावसमेत देखिएको छ। नियमित विद्युत् आपूर्तिमा समस्या भइरहेकाले विद्युतीय चुलोसमेत चलाउन नपाउँदा कोठा भाडामा बस्ने विद्यार्थी र सर्वसाधारणलाई बढी समस्या परेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार