NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारतमा चिकित्सकको चरम लापरवाही: बिरामीको मृत्यु, २ करोड जरिवाना

• शल्यक्रियामा खराब दाहिने मिर्गौलाको सट्टा स्वस्थ देब्रे मिर्गौला निकालियो।• चिकित्सकको लापरवाहीले ५६ वर्षीया शान्ति देवीको मृत्यु भएको थियो।• NCDRC ले सर्जन डा. राजीव लोचनलाई २ करोड भारु जरिवाना तिराउने फैसला गर्‍यो।
Maya Thapa
Maya Thapa
22 May 2026, 9:05 am १ मिनेट पढाइ
आकार:
चिकित्सा लापरवाही जरिवाना
Share:

भारतको उत्तर प्रदेशमा चिकित्सकको चरम लापरवाहीका कारण बिरामीको मृत्यु भएपछि राष्ट्रिय उपभोक्ता विवाद निवारण आयोग (NCDRC) ले सम्बन्धित सर्जनलाई २ करोड भारतीय रुपैयाँ जरिवाना तिराउने ऐतिहासिक फैसला सुनाएको छ।

आयोगले यस घटनालाई चिकित्सा जगतकै ‘सबैभन्दा गम्भीर र चरम लापरवाहीमध्ये एक’ ठहर गरेको छ। सन् २०१२ मा भएको यस घटनामा गलत मिर्गौला झिकिएपछि पीडित ५६ वर्षीया शान्ति देवीको ज्यान गएको थियो।

शान्ति देवीलाई सन् २०१२ को अप्रिलमा पेटमा गम्भीर दुखाइ भएपछि अस्पताल भर्ना गरिएको थियो। परीक्षणका क्रममा उनको दाहिने मिर्गौलामा गम्भीर ‘हाइड्रोनेफ्रोसिस’ भएको पत्ता लागेको थियो, जसले दाहिने मिर्गौला पूर्ण रूपमा खराब भएको देखाएको थियो।

सोही आधारमा ६ मे २०१२ मा खराब दाहिने मिर्गौला निकाल्न शल्यक्रिया गरिएको थियो। तर, शल्यक्रियामा संलग्न डा. राजीव लोचनले बिरामीको दाहिनेको सट्टा स्वस्थ देब्रे मिर्गौला झिकिदिए।

शल्यक्रियाको एक महिनापछि, जुन २०१२ मा बिरामीको रेडियोलोजिकल जाँच र सिटि स्क्यान गरियो। उक्त रिपोर्टमा बिरामीको शरीरमा खराब भएको दाहिने मिर्गौला जस्ताको तस्तै रहेको र स्वस्थ देब्रे मिर्गौला भने गायब भएको देखियो।

यो गम्भीर त्रुटि उजागर भएपछि पीडित परिवारले न्यायको लागि कानुनी लडाइँ सुरु गरेका थिए। सुनुवाइका क्रममा डाक्टरले शल्यक्रिया गर्दा दाहिनेतर्फ नै चिरेको तर गल्तीले देब्रे मिर्गौला निकालेको स्वीकार गरेका थिए।

NCDRC का अध्यक्ष एपी साही र सदस्य भरतकुमार पण्ड्याको इजलासले यस गम्भीर चिकित्सा लापरवाहीका लागि उत्तर प्रदेशका सर्जन डा. राजीव लोचनलाई पूर्ण रूपमा जिम्मेवार ठहर गरेको हो।

मे १८ मा जारी गरिएको आदेशमा आयोगले पीडित परिवारलाई २ करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ। आयोगले भनेको छ, “यसमा कुनै सन्देह छैन कि यो लापरवाहीको सबैभन्दा गम्भीर रूपहरू मध्ये एक हो। यस्ता प्रकृतिका अत्यन्तै कम मात्र मुद्दाहरू अदालत वा न्यायाधिकरणको अगाडि आउने गरेका छन्।”

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार