NM Khabar 16 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नेताहरूको जिल्लामा बजेट केन्द्रित: रास्वपा सांसदको गुनासोमा तथ्य भेटियो

सत्तारुढ दलका सांसदहरूको गुनासो विपरीत, प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र पूर्वाधार विकासमन्त्रीका गृहजिल्लामा ठूलो बजेट विनियोजन भएको छ। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि २ खर्ब ८६ अर्ब ८४ करोड बजेट पाएको छ, जसको ठूलो हिस्सा प्रभावशाली नेताहरूको जिल्लामा परेको छ। अघिल्लो वर्षको तुलनामा केही प्रभावशाली नेताहरूको जिल्लामा बजेट कटौती भए पनि समग्रमा बजेट अझै बढी नै छ।
Arjun Basnet
Arjun Basnet
16 June 2026, 6:17 pm १ मिनेट पढाइ
आकार:
नेताको जिल्लामा बजेट
Share:

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले बजेट शक्तिकेन्द्र वरिपरि छरिएको गुनासो गरिरहेका छन्। यो गुनासो प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र रास्वपा सभापति रवि लामिछानेको जिल्लामा धेरै बजेट विनियोजन भएको पाइएपछि झनै बलियो बनेको छ।

१८ मन्त्रालयमध्ये सबैभन्दा ठूलो पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि २ खर्ब ८६ अर्ब ८४ करोड रुपैयाँ बजेट पाएको छ। यस मन्त्रालयको जिम्मेवारीमा बालेन शाहका विश्वासपात्र सुनिल लम्साल छन्। यसरी परिचालन हुने बजेटको ठूलो हिस्सा रास्वपाका प्रभावशाली नेताहरूको जिल्लामा गएको छ।

फागुन २१ को निर्वाचनमा प्रधानमन्त्री बालेन्द्र शाह झापा–५, अर्थमन्त्री स्वर्णिम वाग्ले तनहुँ–१, गृहमन्त्री सुधन गुरूङ गोरखा–१, पूर्वाधार मन्त्री सुनिल लम्साल रुपन्देही–१, र रास्वपाका सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित भएका थिए।

आगामी आर्थिक वर्षका लागि सडक तथा सहरी पूर्वाधार विकासमा विनियोजन भएको बजेटको करिब नौ प्रतिशत रास्वपाका प्रमुख ६ नेताको जिल्लामा परेको छ। चालू आर्थिक वर्ष २०८२/८३ मा तत्कालीन भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयले झापामा मात्रै १२ अर्ब ४० करोड ३६ लाख ४६ हजार रुपैयाँ विनियोजन गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाटै निर्वाचित भएका थिए।

यस पटक झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरे। बालेन शाह नेतृत्वको सरकारले बनाएको बजेटमा झापाको बजेट चालू आवको तुलनामा आधाले घटेको छ। आगामी आव २०८३/८४ का लागि पूर्वाधार मन्त्रालयबाट झापामा जम्मा ६ अर्ब ६९ करोड ९७ लाख ५४ हजार रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ।

रुपन्देही–१ बाट चुनाव जितेका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको जिल्लामा आगामी आर्थिक वर्षमा ९ अर्ब ४४ करोड १६ लाख ८९ हजार रुपैयाँ बजेट विनियोजन भएको छ। यो रकम चालू आर्थिक वर्षको तुलनामा एक अर्ब ५० करोड ७० लाख २० हजार रुपैयाँ कम हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँ हो। यो राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला पनि हो। अघिल्लो सरकारको पालामा राष्ट्रपतिकै पहलमा चालू आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ४९ लाख ६६ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो। यस पटक पूर्वाधार विकास मन्त्रालयले अर्थमन्त्रीको जिल्ला तनहुँका लागि बजेट बढाएर ३ अर्ब ७१ करोड ५३ लाख ४५ हजार रुपैयाँ विनियोजन गरेको छ।

रास्वपाका सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित भएका छन्। चितवन–३ बाट निर्वाचित रास्वपा नेतृ सोविता गौतम वर्तमान सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छिन्। आगामी आर्थिक वर्षका लागि चितवनमा पूर्वाधार मन्त्रालयबाट एक अर्ब ५५ करोड ८० लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन भएको छ।

गोरखा–१ बाट चुनाव जितेर गृहमन्त्री बनेका सुधन गुरूङको गृहजिल्लामा आगामी आवका लागि पूर्वाधार मन्त्रालयबाट १ अर्ब ९५ करोड ११ लाख ९० हजार रुपैयाँ विनियोजन भएको छ। यो बजेट चालू आर्थिक वर्षको तुलनामा ३८ करोड २६ लाख ३० हजार रुपैयाँले कम हो।

अघिल्ला वर्षहरूको तुलनामा यस पटक प्रभावशाली नेताहरूको जिल्लामा बजेट घटेको देखिए तापनि अन्य जिल्लाको बजेटसँग तुलना गर्दा यो रकम अझै पनि बढी नै छ। अर्थमन्त्री वाग्लेले पुराना आयोजना सम्पन्न गर्न ध्यान दिएर बजेट विनियोजन गरेको र विगतमा बजेट विनियोजन भई काम सुरु भएका तर सम्पन्न हुन बाँकी रहेका आयोजनामा बजेट हाल्नुपरेको बताएका छन्।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार