इजरायलमा सुसारेका रूपमा काम गर्न आठ सय ३६ नेपाली कामदार छनोट भएका छन्। उनीहरू निकट भविष्यमा इजरायल प्रस्थान गर्नेछन्।
इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले नेपालका लागि इजरायली राजदूत श्मुलिक एरीबास, वैदेशिक रोजगार विभागका प्रतिनिधि र सञ्चारमाध्यमका सहभागीहरूबीच श्रव्यदृश्यमार्फत चिट्ठा प्रणालीबाट कामदार छनोट गरेको हो।
दूतावासका अनुसार चिट्ठा प्रक्रियामा एक हजार ११५ जना सहभागी भएकामा ७८४ पुरुष र ३३१ महिला छनोटमा परेका छन्।
राजदूत एरीबासले इजरायलको सेवाशुश्रूषा क्षेत्रमा निकट भविष्यमा थप दुई हजार १०० भन्दा बढी रोजगारीका अवसर खुल्ने जानकारी दिए। उनले ‘घरमा आधारित स्याहार सेवा’ र ‘कृषि श्रमिक’सम्बन्धी द्विपक्षीय सहमति कार्यान्वयनको चरणमा पुगेको बताए।
द्विपक्षीय श्रम सम्झौताअन्तर्गत इजरायल जाने नेपाली कामदारले इजरायली कानुनबमोजिम स्थानीय कामदारसरह न्यूनतम पारिश्रमिक तथा सेवासुविधा प्राप्त गर्नेछन्।
यो छनोट प्रक्रिया इजरायल र नेपालबीचको श्रम सहकार्यलाई सुदृढ बनाउने महत्वपूर्ण उपलब्धि हो। दुवै देशले भर्ती प्रक्रियामा पारदर्शिता, निष्पक्षता र समान अवसरप्रतिको प्रतिबद्धता दोहोर्याएका छन्।
