पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारीसहित दुई जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो। दुर्घटना इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित सडकमा भएको थियो।
मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा नगरपालिका–३ बस्ने २९ वर्षीय पारस थापा र सोही ठाउँका ३४ वर्षीय सागर रेग्मी छन्। सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा करार कर्मचारी थिए। प्रहरीका अनुसार उनी प्रमुख जिल्ला अधिकारीका स्वकीयका रुपमा पनि कार्यरत थिए। पारसले केही समयअघि कार्यालयबाट राजीनामा दिएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई प्रहरीले उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको थियो। उपचारका क्रममा बिहान दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गर्यो।
दुर्घटना राति करिब २ बजे भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
