जाजरकोटमा शुक्रबारदेखि परेको अविरल वर्षाले पहिरो निम्त्याएको छ। भेरी नगरपालिका–२ रिसाङमा पहिरोले घर पुरिँदा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा रामबहादुर शाही र केदार कार्की रहेको Nmkhabarलाई स्रोतले पुष्टि गर्यो। पहिरोले उनीहरूको घर पुरिएको थियो।
जाजरकोट प्रहरी प्रमुख डीएसपी बुद्धीसागर पुरीका अनुसार जिल्लामा तीन स्थानमा सडक अवरुद्ध छ। रातिको समय भएकाले प्रहरी घटनास्थल पुग्न सकेको छैन।
भेरी करिडोरको भेरी नगरपालिका–१ कोलचौरबाट आएको पहिरोले रावतगाउँ नजिकै सडक पुरिँदा यातायात ठप्प भएको छ।
नलगाड नगरपालिका १३ फुम्दामा सडकको पहिरोले बस्ती जोखिममा परेको छ। शिक्षिका रेखा सिंहले बस्ती जोखिममा रहेको जानकारी दिइन्।
नलगाड नगरपालिका १० मा शुक्रबार बिहानदेखि अवरुद्ध भेरी करिडोरको सडक अझै सुचारु हुन सकेको छैन।
पश्चिम जाजरकोटको छेडा जुनिचाँदे सडक खण्डको छेडागाडको लोडनीमा पनि पहिरोले सडक अवरुद्ध छ। अँध्यारो र निरन्तर वर्षाले उद्धार कार्यमा समस्या भएको छ।
