NM Khabar 27 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जलेश्वर कारागार तोडेर भागेका २५० कैदीबन्दी अझै फरार, ३२६ जना फर्किए

जलेश्वर कारागारबाट भागेका ५७६ कैदीबन्दीमध्ये २५० जना अझै फरार छन्। हालसम्म ३२६ जना कैदीबन्दी आफैं फर्किएका छन्, जसमा ३१६ नेपाली र १० भारतीय छन्। पुरानो संरचना, क्षमताभन्दा बढी कैदी र औषधिको अभावले कारागार व्यवस्थापनमा चुनौती थपिएको छ।
Kamala Devi
Kamala Devi
25 May 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
Share:

महोत्तरीको जलेश्वर कारागार तोडेर भागेका २५० कैदीबन्दी अझै फरार छन्। भदौ २४ गते कारागार तोडेर भागेका ५७६ कैदीबन्दीमध्ये हालसम्म ३२६ जना फर्किसकेको जलेश्वर कारागारका प्रमुख अशोककुमार क्षेत्रीले बताए।

आन्दोलनको मौका छोपी भागेका कैदीमध्ये ४० जना भारतीय नागरिकसमेत थिए। कारागार प्रशासनले भदौ २५ गते नै सञ्चारमाध्यममार्फत फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेको थियो। त्यसयता ३१६ नेपाली र १० भारतीय गरी ३२६ जना फर्किसकेका छन्। फर्किने क्रम जारी छ।

‘सुरुदेखि नै हामीले सबैलाई फर्किन आग्रह गरेका थियौँ,’ क्षेत्रीले भने, ‘अहिले पनि केही कैदीबन्दी आफैँ आएर उपस्थित भइरहेका छन्।’ फर्किएर आउनेलाई कारागार ऐन, २०७९ अनुसार कारबाही गरिनेछ। फरारलाई लुकाउने वा आश्रय दिनेमाथि पनि कारबाही हुनेछ।

भागेका १३ जनालाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल फर्काउन सहयोग गरेको थियो। बाँकी कैदीबन्दी स्वेच्छाले फर्किएका हुन्।

वि.सं. १९१३ मा बनेको जलेश्वर कारागार देशकै पुरानो हो। २०० जना क्षमताको कारागारमा अहिले दोब्बरभन्दा बढी कैदीबन्दी छन्। पुरानो र जीर्ण भवनकै भरमा सञ्चालन गर्दा व्यवस्थापनमा कठिनाइ छ।

कारागार प्रमुख क्षेत्रीका अनुसार खानेपानी र खानाको व्यवस्था सामान्य छ। तर, बजेट अभावले आवश्यक औषधि समयमा जुटाउन गाह्रो छ। पुरानो भवन र भिडभाडका कारण सङ्क्रमण फैलिने जोखिम बढेको छ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले फरार कैदीबन्दीको खोजतलास जारी रहेको बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सुरक्षा निकाय परिचालन गरेर खोजी कार्य भइरहेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार