मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

जनकपुरमा ९ वर्षीया बालिका अपहरण प्रयास: महोत्तरीका ठाकुर पक्राउ

• जनकपुरधाममा ९ वर्षीया बालिकालाई अपहरणको प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन्। • पक्राउ पर्ने व्यक्ति महोत्तरी गाउँपालिकाका ३६ वर्षीय मनिष ठाकुर हुन्। • प्रहरीले सीसीटीभी फुटेजका आधारमा ठाकुरलाई महोत्तरीस्थित घरबाट पक्राउ गरेको हो।
Kamala Devi
१ मिनेट पढाइ
आकार:
बालिका अपहरण प्रयास धनुषा
Screenshot
Share:

जनकपुरधाममा ९ वर्षीया बालिकालाई ललाईफकाई गरी अपहरणको प्रयास गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–१ पर्साका ३६ वर्षीय मनिष ठाकुर छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाको क्राइम टोलीले ठाकुरलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार, भदौ १८ गते रामानन्द चोकस्थित एन्जल बोर्डिङ स्कुलबाट छुट्टी भएर निस्कने क्रममा ठाकुरले बालिकालाई फकाई फुल्याई आफूसँग लैजाने प्रयास गरेका थिए।

घटनापछि प्रहरीले विद्यालय आसपासका सीसीटीभी फुटेजको विश्लेषण गरी ठाकुरको पहिचान गरेको थियो। पहिचान खुलेपछि प्रहरीले उनलाई महोत्तरीस्थित घरबाट नियन्त्रणमा लिएको धनुषाका डीएसपी एवं प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

अपहरणको प्रयासमा परेकी बालिका आफ्नो परिवारसँगै जनकपुरधाममा डेरा गरी बस्दै आएकी छन्। उनको स्थायी घर सिरहा जिल्लामा रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका ठाकुर पूर्वशिक्षक रहेको र महोत्तरीको एक रेडियोमा समेत कार्यरत रहेको खुलेको छ। डीएसपी खनालले पक्राउ परेका ठाकुरलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार