झापाको बिर्तामोडबाट प्रहरीले कानुनविपरीत अनलाइन सट्टेबाजी गराउने तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाको टोलीले बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफेमा गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा बिर्तामोड–४ का ४१ वर्षीय किरण कान्दङ्वा, ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्ज्वल गुरागाईँ छन्। प्रहरीले उनीहरूको साथबाट सट्टेबाजीमा प्रयोग भएका विद्युतीय उपकरण बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि अनलाइन सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको खुलेको छ। प्रहरीले उनीहरूलाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ।
