NM Khabar 20 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जीतपुरसिमरा बालिका हत्या: प्रहरी कार्यालय घेराउ, राजमार्ग ठप्प

जीतपुरसिमरा उपमहानगरपालिकाकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याको घटनाले स्थानीयवासी आक्रोशित बनेका छन्। पीडित परिवार र स्थानीयले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरी दोषीलाई फाँसी दिनुपर्ने माग गरेका छन्। घटनाको विरोधमा राजमार्ग र ग्रामीण सडक ठप्प पारिएको छ।
Kamala Devi
Kamala Devi
20 August 2026, 7:03 pm १ मिनेट पढाइ
आकार:
जीतपुरसिमरा बालिका हत्या
Share:

जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याको विरोधमा पीडित परिवार र स्थानीयवासीले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरेका छन्। इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीलाई कारबाही गर्नुपर्ने र घटनाका दोषीलाई फाँसी दिनुपर्ने माग राखेर उनीहरू कार्यालयअगाडि प्रदर्शनमा उत्रिएका छन्।

सिमरामा उत्पन्न तनाव कम गर्न जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले पीडित परिवार र स्थानीयहरूसँग वार्ताको प्रयास गरिरहेका छन्। प्रहरीले बालिकालाई बलात्कार गरी हत्या गरिएको निष्कर्ष निकालेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जीतपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।

हत्याको विरोधमा स्थानीयहरूले मुख्य राजमार्गदेखि ग्रामीण सडक अवरुद्ध पारेर दुई दिनदेखि प्रदर्शन गरिरहेका छन्। वीरगन्ज–पथलैया औद्योगिक मार्गको सिमरा, सिमरा–डुमरवाना सडक खण्ड, पिलुवा–वडहर्वा सडक खण्डमा यातायात ठप्प पारिएको छ। जीतपुरसिमरा उपमहानगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोक सभा गरी विद्यालय बन्द गरेका छन्।

तीन वर्षीया बालिकामाथि भएको क्रूर घटनाले शैक्षिक क्षेत्र स्तब्ध भएको भन्दै विद्यालयहरूले विज्ञप्ति जारी गरी दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन्। आन्दोलनमा उत्रिएका पीडित परिवारका सदस्यले भने, ‘यो तीन वर्षीया बालिकामाथि भएको क्रूर व्यवहारले निम्त्याएको विद्रोह हो। हामी न्यायको खोजीमा छौँ। दोषीलाई हदैसम्मको कारबाही होस्, जसले यस्तो अर्को घटना फेरि नदोहोरियोस्।’

पीडित परिवार र स्थानीयले बिहीबार बिहानैदेखि उपमहानगरपालिकामा पर्ने राजमार्ग र ग्रामीण सडकहरूमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। बुधबार दिउँसोबाट बन्द रहेको वीरगन्ज–पथलैया सडक खण्डमा यातायात चल्न सकेको छैन। मृतक गरिमा चौधरीका बुवा मनोज चौधरीले प्रहरीले समयमै खोजी नगर्दा छोरीलाई बचाउन नसकिएको बताए। उनले छोरी हराएको बेला नै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएको भए पनि प्रहरीले खोजीमा गम्भीरता नदेखाएको आरोप लगाए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार