जीतपुरसिमरा उपमहानगरपालिका १ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पीडित पक्ष र प्रशासनबीच मध्यरातमा ५ बुँदे सहमति भएको छ। सहमतिपछि विरोधका सबै कार्यक्रम स्थगित गरिएका छन्।
भदौ २ गतेको घटनालाई लिएर पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र जिल्ला सुरक्षा समिति, बाराबीच पथलैयास्थित सशस्त्र प्रहरी बलको तालिम शिक्षालयमा वार्ता भएको थियो।
लामो वार्तापछि दुवै पक्षबीच ५ बुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय भएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए। बैठकले पीडित परिवारलाई राहत र रोजगार व्यवस्थापनका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ।
घटनामा संलग्न संदिग्धहरू प्रहरी हिरासतमा छन्। अनुसन्धानमा अन्य कसैको संलग्नता पुष्टि भए कडा कारबाही गरिनेछ। जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्था सुदृढ बनाउने जिम्मेवारी लिएको छ। जीतपुरसिमरा उपमहानगरपालिका १ का वडाध्यक्ष हिराबहादुर लामाले यो जानकारी दिए।
इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा लापरबाही गर्ने सुरक्षाकर्मीमाथि कारबाहीको माग पूरा भएपछि आन्दोलन रोक्न प्रशासन र पीडित पक्ष सहमत भएका हुन्।
