NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जोर्तीघाटमा दुई झोलुङ्गे पुल सञ्चालन: तीन जिल्ला जोड्ने नयाँ सेतु

• खोटाङ, ओखलढुङ्गा र उदयपुरलाई जोड्ने जोर्तीघाटमा दूधकोशी र सुनकोशी नदीमा दुई झोलुङ्गे पुल सञ्चालनमा आएका छन्। • १३४ मिटर (दूधकोशी) र १७८ मिटर (सुनकोशी) लामो पुल निर्माणमा करिब रु ३ करोड ३१ लाख लागत लागेको छ। • पुलले तीन जिल्लाका नागरिकलाई सहज आवागमन, पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
31 May 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
Share:

खोटाङ, ओखलढुङ्गा र उदयपुर जिल्लालाई सङ्गमस्थल जोर्तीघाटमा जोड्ने गरी दूधकोशी र सुनकोशी नदीमा दुई वटा झोलुङ्गे पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ। हलेसी तुवाचुङ नगरपालिका-१ बहुनीडाँडा, मानेभञ्ज्याङ गाउँपालिका-६ हिलेपानी र कटारी नगरपालिका-१४ लेखानीलाई जोड्ने यी पुलले तीन जिल्लाका नागरिकको आवागमनमा सहजता ल्याएको छ।

नगरप्रमुख विमला राईका अनुसार पुल सञ्चालनसँगै पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। विद्यार्थी, किसान, व्यापारी र सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन्। यी पुलले विकास, सम्भावना र सामाजिक एकताको नयाँ सेतु निर्माण गरेको उनको भनाइ छ।

खोटाङ र ओखलढुङ्गालाई जोड्ने दूधकोशीको पुल १३४ मिटर लामो छ भने ओखलढुङ्गा र उदयपुरलाई जोड्ने सुनकोशीको पुल १७८ मिटर लामो छ। २०७९ साउन ६ गते सस्पेन्सन ब्रिज डिभिजन र श्री अपर तामाकोशी जेके जेभीबीच सम्झौता भई पुल निर्माण सुरु भएको थियो।

राष्ट्रिय गानका स्रष्टा प्रदीपकुमार राई ‘व्याकुल माहिला’को पहलमा निर्माण भएका यी पुलको औपचारिक उद्घाटन १९औँ गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते गरिएको थियो। उद्घाटन कार्यक्रममा साकेला सिली, सांस्कृतिक झाँकी प्रस्तुत गरिनुका साथै कोशी किनारमा पूजाआजासमेत गरिएको थियो।

करिब रु तीन करोड ३१ लाख लागतमा सम्पन्न भएका यी पुल सञ्चालनसँगै स्थानीयबासी हर्षित भएका छन्। लामो समय डुङ्गाको भरमा नदी वारपार गर्दै आएका उनीहरूका लागि सुविधा सम्पन्न पुलले सहजता ल्याएको छ। यी पुल पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

विशेषताका रूपमा, दुवै पुलको जीप (मुख्य पाइलनसँग जोडिने केबल) ओखलढुङ्गातर्फ एउटै बिन्दुमा जोडिएको छ। एउटै जीपबाट बनेका यी दुई झोलुङ्गे पुलले दूधकोशी र सुनकोशी पार गर्दै सम्बन्धित जिल्लाहरूलाई जोडेका छन्। जोर्तीघाटको प्राकृतिक सौन्दर्य अवलोकन गर्न दैनिक आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार