कञ्चनपुरको पुनर्वासमा दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सशस्त्र प्रहरी बल नेपालले उद्धार गरेको छ। पुनर्वास नगरपालिका–९ सिताबस्तीमा दोदा नदी तरेर निउरो टिप्न गएका पाँच महिलालाई बिचफाँटास्थित सशस्त्र प्रहरी टोलीले उद्धार गर्यो। सशस्त्र प्रहरी नायब निरीक्षक शान्तबहादुर सुनारको नेतृत्वमा टोली खटिएको थियो।
सोही नगरपालिकाको हरियालीटोलमा बाहुन खोलाको बाढीले १५ जना महिलालाई घेरा हाल्यो। दाउराघाँस गर्न गएका उनीहरूलाई सशस्त्र प्रहरीले सकुशल निकालेको हो। सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले उद्धार कार्यको पुष्टि गरे। उद्धारमा नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीले सहयोग गरे।
सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी मुख्यालयले मनसुनमा सतर्क रहन नागरिकलाई आह्वान गरेको छ।
