कपिलवस्तुका ७३० परिवारले १३ वर्षपछि पाए जग्गाको लालपुर्जा
कपिलवस्तुको बुद्धभूमि नगरपालिका-७ का ३३८ र ८ का ३९२ गरी ७३० परिवारले जग्गा नापजाँच भएको करिब १३ वर्षपछि लालपुर्जा पाएका छन्। उनीहरू वर्षौंदेखि प्रतिक्षामा रहेको पुर्जा प्राप्त गरेपछि खुसी भएका छन्।
नापी कार्यालयले जग्गा नापजाँच सम्पन्न गरे पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिताको कमीले लालपुर्जा वितरण रोकिएको थियो।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रानाले आवश्यक प्रक्रिया पूरा गरी यी ७३० परिवारलाई जग्गाधनी पुर्जा वितरणको व्यवस्था मिलाएकी हुन्। मन्त्री रानाले वितरण प्रक्रियालाई सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी थिइन्।
लालपुर्जा प्राप्त गरेपछि स्थानीय बासिन्दाले आफ्नो जग्गाको कानुनी मान्यता पाएको र सम्पत्तिमाथिको अधिकार सुनिश्चित भएको महसुस गरेका छन्। यसले भविष्यमा जग्गा बिक्री, धितो राख्न वा अन्य कानुनी प्रक्रियामा सहजता ल्याउनेछ।
