कपिलवस्तुका किसानहरूले सरकारी निकायबाट अहिलेसम्म कुनै सहयोग नपाएको गुनासो गरेका छन्। कृषि ज्ञान केन्द्रले तौलिहवामा आयोजना गरेको चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सो कुरा बताएका हुन्। जिल्लाका विभिन्न स्थानमा जाँदा अधिकांश किसानले आफूहरूले केही नपाएको गुनासो गरेको उनले सुनाए।
किसानहरूको यो गुनासोले सरकारी र निजी स्तरबाट सञ्चालित कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठाएको छ। कपिलवस्तु कृषि क्षेत्रको दृष्टिकोणले प्रचुर सम्भावना भएको जिल्ला भए पनि विकास सोचअनुरुप नभएको प्रजिअ गौतमको भनाइ छ। उनले कृषकहरूलाई मलखाद र सिँचाइ आवश्यकताअनुसार दिन नसकिएको स्वीकार गर्दै यसको उचित प्रबन्ध गर्नुपर्नेमा जोड दिए। जिल्लाको पश्चिमी क्षेत्रमा सिँचाइको ठूलो समस्या रहेकोले यसका लागि सबै तहका सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ।
जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले कपिलवस्तु कृषि क्षेत्रका लागि सम्भावनायुक्त भए पनि मलखाद र सिँचाइको समस्याले किसानहरू मारमा परेको बताए। उनले वर्षौंदेखि कृषि क्षेत्रका लागि बजेट विनियोजन भए पनि त्यो पर्याप्त नभएको तर्क गरे। आचार्यका अनुसार कपिलवस्तुको पश्चिमी क्षेत्रका कृषकहरू पूर्णतया आकाशे पानीमा निर्भर रहन बाध्य छन्। सिँचाइ र मलखादका लागि तीनै तहका सरकारले ठोस पहल गर्नुपर्ने उनको भनाइ छ।
विजयनगर गाउँपालिकाका प्रमुख गोपाल थापाले सिँचाइ अभावले यस वर्ष आफ्नो पालिकामा ६० प्रतिशत मात्र धान रोपाइँ भएको बताए। पानी नपरेर रोपेको धान सुक्ने अवस्थामा पुगेको उनको भनाइ छ। थापाले आफ्नो पालिकालाई सुक्खाग्रस्त घोषणा गर्न पालिकाले निर्णय गरी विपद् व्यवस्थापन समितिमा पठाएको जानकारी दिए। सिँचाइको व्यवस्था नहुँदा पालिकाका कृषकहरू समस्यामा परेको उनको गुनासो छ।
कपिलवस्तुमा आर्थिक वर्ष २०८३/०८४ का लागि तीन कृषि कार्यालयको कुल बजेट १२ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमा कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ तथा पशु तथा भेटेरिनरी अस्पताल विज्ञ केन्द्रको बजेट समावेश छ। कृषि ज्ञान केन्द्रका लागि चार करोड ६२ लाख ९३ हजार, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका लागि चार करोड ५ लाख, र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका लागि तीन करोड ९६ लाख रुपैयाँ बजेट छुट्याइएको छ।
कृषि ज्ञान केन्द्रले कृषि उत्पादन, बजारीकरण, नियमन तथा प्रविधि प्रसारका लागि एक करोड ९५ लाख ८९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले चेते धान खेती विस्तारका लागि २५ हेक्टर क्षेत्र निर्धारण गर्दै चार लाख रुपैयाँ बजेट छुट्याएको छ, जसमा सिँचाइ पूर्वाधार विकास तथा मर्मतसम्भारका लागि १० लाख रुपैयाँ समावेश छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपन्छी उत्पादन, बजारीकरण, नियमन तथा प्रविधि प्रसारलगायतका कार्यक्रम सञ्चालन गर्न चार करोड ५ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरी, कृषि आधुनिकीकरण एकाइका वरिष्ठ कृषि अधिकृत राकेशकुमार ओझा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख डा. सुकईप्रसाद थारुले आगामी योजना तथा बजेटबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए।
