कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले भदौ २ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले हालसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।
विश्वासको मत लिने मिति घोषणा नभए पनि भदौ २ गतेको बैठकलाई लक्षित गरी छलफल चलिरहेको छ। प्रदेश सभा सचिवालयलाई दुई दिनअघि जानकारी दिनुपर्ने व्यवस्था छ।
मन्त्रालयहरू लामो समयसम्म रिक्त राखेको भन्दै आलोचना सुरु भएको छ। नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशका इन्चार्ज चन्द्रबहादुर शाहीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताए।
शाहीले मन्त्रालयगत विषयमा छलफल गर्न बाँकी रहेको र आफू भर्खरै काठमाडौँबाट सुर्खेत आइपुगेको जानकारी दिए। उनले भने, ‘पावर सेयरिङको विषयमा छलफल हुन्छ। विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुनेछ।’
