नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीचको राष्ट्रिय सहमतिले कर्णाली प्रदेशमा नेकपाको नेतृत्वमा सरकार गठनको बाटो खोलेको छ। यो सहमतिले यसअघि प्रदेशमा गरिएको सत्ता समीकरणलाई प्रभावित पारेको छ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसले गत असार ३१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ प्रदेशसभा सदस्यहरूले नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा सरकार निर्माण गर्ने भन्दै उक्त प्रस्ताव दर्ता गराएका थिए।
उक्त प्रस्तावमाथिको छलफल गर्न कर्णाली प्रदेश सभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको थियो। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएका हुन्।
मुख्यमन्त्री कँडेलको राजीनामापछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। कर्णाली प्रदेश सभाको बैठक यही साउन १४ गते बिहीबार दिउँसो ३ः०० बजे बस्ने सभामुख नन्दा गुरुङले बताएकी छन्।
