कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार दिउँसोदेखिको अविरल वर्षापछि अपराह्न ५ बजे पहिरो गएको थियो।
रातिसम्मै पानी नरोकिएकाले हिलो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले Nmkhabarलाई पुष्टि गरे। ‘राति पहिरो पन्छाएर सडक सुचारु गर्न सकिने अवस्था छैन,’ उनले भने।
पहिरोले सडक अवरुद्ध भएपछि सुर्खेतबाट जुम्लाका लागि छुटेका गाडी खिड्किज्युलामै फर्किएका छन्। जुम्ला, मुगु र कालीकोट तथा कर्णाली करिडोरको हुम्ला, बाजुरा, कालिकोटको रास्कोट भेगबाट आएका गाडी पनि रोकिएका छन्।
पहिरो लगातार झरिरहेकाले एक्स्काभेटर गगने खोला नजिकै भए पनि पहिरो पन्छाउन समस्या भएको छ। जुम्ला र कालीकोट जान सुर्खेतबाट हिँडेका गाडी बाटोमा अलपत्र परेको जीप चालक दमन देवकोटाले बताए। उनले कालीकोट जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला जाने गाडी गगने खोलाबाट फर्किएर दैलेख खिड्कीज्युला बास बसेको सुनाए।
