मोदीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमामा पर्ने नयाँपुल–बिरेठाँटी सडकखण्ड नजिकका पुल बाढीले बगाएको हो। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
बाढीले मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरको आधा भागसमेत बगाएको छ। मन्दिरमा एक सन्तपुजारी र दुई भक्तजन गरी तीन जना फसेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट चार जना रोप रेस्क्यु र तीन जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वीरेन्द्र कुमार पासवानले पनि मन्दिरमा ३ जना अलपत्र परेको र उद्धार प्रयास भइरहेको पुष्टि गरेका छन्।
यता त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। कालिखोला चितवन जलमापन केन्द्रमा जलसतहले सतर्कता तह नाघेको छ। बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने स्थानका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
त्रिशूली नदी बेत्रावती नुवाकोट जलमापन केन्द्रहरूमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। महाशाखाले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
