काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
स्थायी लेखा नम्बर (PAN) बन्द गर्नका लागि वडा कार्यालयबाट आवश्यक सिफारिस गरिदिने प्रयोजनमा दुःख हैरानी दिई सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारले भट्टराईमाथि निगरानी राखेको थियो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले भट्टराईमाथि थप अनुसन्धान भइरहेको बताए।
