NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

खोटाङ प्रशासन: अपाङ्गता भएका दाजुभाइलाई घरमै नागरिकता

खोटाङका दुई अपाङ्गता भएका दाजुभाइलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता प्रदान गरेको छ। शारीरिक अशक्तताका कारण सेवा लिन नसकिरहेका गणेश र धीरबहादुर खत्रीले नागरिकता पाएपछि राज्यबाट पाउने सेवासुविधामा पहुँच पाएका छन्। नागरिकतासँगै उनीहरूलाई न्यानो कम्बलसमेत उपलब्ध गराइएको छ।
Maya Thapa
Maya Thapa
10 June 2026, 7:03 pm १ मिनेट पढाइ
आकार:
घरमै नागरिकता
Share:

शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८, लामीडाँडाका मानबहादुर खत्रीका छोरा गणेश (२६) र धीरबहादुर (२२) खत्रीले घरमै नागरिकता पाएका छन्। प्रमुख जिल्ला अधिकारी रेखा कँडेल नेतृत्वको टोलीले उनीहरूलाई नागरिकता प्रमाणपत्र प्रदान गरेको हो।

जन्मजात अपाङ्गता भएका गणेश र धीरबहादुर नागरिकताविहीन हुँदा राज्यबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित थिए। वडा कार्यालयबाट यो जानकारी पाएपछि सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईको पहलमा प्रशासनको टोली घरमै पुगेर नागरिकता वितरण गरेको हो। नागरिकता पाएपछि खत्री दाजुभाइले राज्यबाट प्रदान गरिने सेवासुविधामा पहुँच सुनिश्चित भएको बताए।

‘नागरिकता नहुँदा अपाङ्गता भएका नागरिकले पाउने सेवासुविधाबाट वञ्चित हुनुपरेको रहेछ,’ सहायक सिडिओ राईले भनिन्, ‘यो जानकारी पाएपछि हाम्रो टोली घरमै पुगेर नागरिकता दिएका छौं। अब राज्यबाट पाउने सेवासुविधा प्राप्त गर्ने ढोका खुलेको छ।’ शारीरिक अशक्त नागरिकलाई सामाजिक सुरक्षा शीर्षकअन्तर्गत मासिक निर्वाह भत्ता उपलब्ध गराइन्छ। नागरिकता र राष्ट्रिय परिचयपत्र प्राप्त गरेपछि सो सेवा लिने कानुनी प्रक्रिया पूरा हुनेछ।

नागरिकता वितरणसँगै जिल्ला प्रशासन कार्यालयले अशक्त दाजुभाइलाई न्यानो कम्बलसमेत उपलब्ध गराएको वडाध्यक्ष लीला चौहानले जानकारी दिए। स्थानीय तह र जिल्ला प्रशासनको सहकार्यमा शारीरिक अशक्त नागरिकलाई थप सहजता प्रदान गरिने वडाध्यक्ष चौहानले बताए।

प्रमुख जिल्ला अधिकारी कँडेलले जिल्लाबासी नागरिकको सहजताका लागि राज्यले प्रवाह गर्ने सेवामा चुस्तता ल्याउन प्रयास गरिरहेको बताइन्। नागरिकको आधारभूत सेवा पाउने अधिकार सुनिश्चित गर्न आफू र जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको उनको भनाइ छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार