NM Khabar 6 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

खोटाङमा फुटसल मैदान खन्दा भेटियो द्वन्द्वकालीन विस्फोटक पदार्थ

खोटाङको दिक्तेल बजारमा फुटसल मैदान निर्माणका लागि जमिन खन्दा द्वन्द्वकालीन विस्फोटक पदार्थ भेटिएको छ। शनिबार साँझ फेला परेको उक्त पदार्थलाई सेनाले सोमबार बिहान निष्कृय पार्ने तयारी गरेको छ। स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।
Prakash Gurung
Prakash Gurung
6 September 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
खोटाङ विस्फोटक पदार्थ
Share:

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा फुटसल मैदान निर्माणका लागि जमिन खन्दा द्वन्द्वकालीन बेवारिसे विस्फोटक पदार्थ फेला परेको छ। तत्कालीन सशस्त्र द्वन्द्वका बेला सुरक्षा फौजको बेसक्याम्प रहेको उक्त स्थानमा शनिबार साँझ जमिन सम्याउने क्रममा यो फेला परेको हो।

फेला परेको विस्फोटक पदार्थलाई सोमबार बिहान नेपाली सेनाको टोलीले निष्कृय गर्ने तयारी गरेको छ। साँझपख फेला परेकाले तत्काल डिस्पोज गर्न प्राविधिक रूपमा कठिन भएको थियो। स्थानीय प्रशासनले सो क्षेत्र वरिपरि नजान र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

रणभीम गण मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीका अनुसार विस्फोटक पदार्थ भेटिएको स्थानलाई सुरक्षित राखिएको छ। रातको समयमा जोखिम हुने भएकाले सोमबार बिहानै सेनाको विशेष टोली परिचालन गरी उक्त वस्तु निष्कृय पारिने उनले जानकारी दिए।

खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले द्वन्द्वकालमा सुरक्षा फौजको क्याम्प रहेका बेला सुरक्षा प्रयोजनका लागि विस्फोटक पदार्थ राखिएको हुन सक्ने बताइन्। सशस्त्र द्वन्द्वका बेला स्थानीय व्यक्तिको निजी जग्गामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त फौज बस्ने गरी बेसक्याम्प खडा गरिएको थियो।

शान्ति प्रक्रियापछि क्याम्प अन्यत्र सारिए पनि स्थानीयले खेतीपाती वा निर्माणका लागि जमिन खन्ने क्रममा यसअघि पनि पटक-पटक यस्ता विस्फोटक पदार्थ फेला पर्ने गरेका थिए।

Prakash Gurung

Prakash Gurung

संवाददाता · NM Khabar

प्रकाश गुरुङ NM खबरका खेलकुद संवाददाता हुन्। क्रिकेट, फुटबल र एथलेटिक्सका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा उनले गहन कभरेज गर्छन्। नेपाली खेलाडीको सफलताका पछाडिका मानवीय कथाहरू उजागर गर्नु उनको विशेषता हो।

सम्बन्धित समाचार