कीर्तिपुर होल्डिङ सेन्टरमा भूमिहीन सुकुम्बासीको अवस्था बुझ्न पुगेका अभियन्तामाथि प्रहरीले दमन गरेको छ। नेपाल महिला एकता समाजले अभियन्ता माजिद अन्सारी, सरिस्मा थापा र नेल्शन घतानीमाथि भएको कुटपिट, बल प्रयोग र पक्राउको भर्त्सना गरेको छ।
शनिबार जारी विज्ञप्तिमा समाजले प्रहरीको व्यवहार लोकतान्त्रिक मूल्य, विधिको शासन र मानवअधिकार सिद्धान्तविपरीत भएको जनाएको छ। वैशाख १२ गतेदेखि सरकारले भूमिहीनलाई पर्याप्त विकल्पबिना होल्डिङ सेन्टरमा राखेको थियो। वर्षाले प्रभावित परिवारको अवस्था बुझ्न पुगेका अभियन्तामाथि दमन भएको आरोप छ।
संविधानले सुनिश्चित गरेको शान्तिपूर्ण भेला र विचार अभिव्यक्तिको अधिकारमाथि राज्य संयन्त्रको बल प्रयोग अस्वीकार्य रहेको समाजले जनाएको छ। घटनाको स्वतन्त्र, निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ। पक्राउ परेका सबैलाई बिनाशर्त तत्काल रिहा गर्नुपर्ने समाजको माग छ।
त्यस्तै, होल्डिङ सेन्टरका बासिन्दाको उचित व्यवस्थापन गर्नुपर्छ। जबर्जस्ती उठीबास, दमन र अस्थायी राहतको अभ्यास अन्त्य हुनुपर्छ। अधिकारमा आधारित स्थायी समाधानका लागि संवाद आवश्यक छ।
समाजले राष्ट्रिय मानवअधिकार आयोग, नागरिक समाज र सञ्चारमाध्यमलाई घटनाको अनुगमन गर्न आग्रह गरेको छ। प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउन र राज्यलाई दायित्व पूरा गराउन पहल गर्न अनुरोध गरिएको छ।
