NM Khabar 21 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशीका मुख्यमन्त्री कार्कीले तेस्रो पटक विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले भदौ ३ गते मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि यो कदम चालिएको हो। कोशी प्रदेशसभामा ९२ सदस्य छन्, जसमा मुख्यमन्त्री कार्कीको दल एमालेसँग ४० सांसद छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
21 August 2026, 8:02 pm १ मिनेट पढाइ
आकार:
मुख्यमन्त्री कार्की विश्वासको मत
Share:

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ ८ गते तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन्। उनले यसका लागि प्रदेश संसद् सचिवालयमा पत्राचार गरिसकेका छन्। मुख्यमन्त्रीको सचिवालय र प्रदेशसभा सचिवालयले यो विषयको पुष्टि गरेका छन्।

मुख्यमन्त्री कार्कीले आजै विश्वासको मत लिने तयारी गरेका थिए। तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर मात्र अघि बढ्ने भन्दै उनले यसलाई सोमबारका लागि सारेका हुन्। एक मन्त्रीका अनुसार, तीनबुँदे सहमति कार्यान्वयनबारे ब्रिफिङ गर्नुपर्ने भएकाले विश्वासको मत लिने प्रक्रिया पर सारिएको हो।

मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि संसद् सचिवालय र सभामुखले सांसदहरूलाई जानकारी गराएका छन्। एमाले सांसद मीना श्रेष्ठले सोमबार विश्वासको मत लिने विषयमा आफूहरूलाई जानकारी आएको बताइन्।

मुख्यमन्त्री कार्की शनिबार अध्यक्ष ओलीसँग भेट्न काठमाडौँ जाने कार्यक्रम छ। यद्यपि, सोही दिन एमाले महासचिव शंकर पोखरेल विराटनगर आउने कार्यक्रम रहेकाले कार्कीको काठमाडौँ जाने कार्यक्रम रोकिन सक्ने बताइएको छ।

नयाँ मन्त्रीहरूको शपथ ग्रहणपछि मुख्यमन्त्री कार्कीले चाँडै विश्वासको मत लिने बताएका थिए। नेपाली कांग्रेसले भदौ ३ गते मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिईसकेको छ।

गत साउन ९ गते एमाले र नेकपाबिच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार नेकपा सोमबार कोशी प्रदेश सरकारमा सहभागी भइसकेको छ।

संविधानको धारा १६८ (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले २०८१ वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यसबेला ६२ जना प्रदेशसभा सदस्यमध्ये ५७ जनाले विश्वासको मत दिएका थिए भने ५ जना तटस्थ बसेका थिए।

एमाले र तत्कालीन माओवादीबिचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन गरेपछि मुख्यमन्त्री कार्कीले २०८१ असोज २ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यसबेला विश्वासको मतको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो।

कोशी प्रदेशसभामा ९२ सदस्य छन्। एमालेका ४०, कांग्रेसका २९, नेकपा (एकीकृत समाजवादी) सहितको नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाका ५ (सभामुखसहित) र जसपाका १ सांसद छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार