सुदूरपश्चिम र कर्णालीपछि कोशी प्रदेशमा पनि नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन टुट्ने निश्चित भएको छ। केन्द्रमा भइरहेको राजनीतिक खटपटले कोशीको सत्ता समीकरण धरापमा पारेको हो।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आजै बेलुकासम्म कांग्रेसले सरकार छाड्ने निर्णय लिने बताए। यस विषयमा केन्द्रमा छलफल चलिरहेको छ।
थापाका अनुसार, ‘बेलुकासम्म सरकारबाट बाहिरिनुपर्ने अवस्था आउन सक्नेछ।’ गठबन्धन टुटेपछि भावी रणनीतिबारे नेताहरूबीच छलफल सुरु भएको छ।
कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री इन्द्रमणि पराजुलीले सत्ता समीकरण टुट्ने विषयमा आफूलाई जानकारी नभएको बताए। कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिएको उनले स्पष्ट पारे।
