कोशी प्रदेशका सत्ता सहयात्री दल नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले निर्माण गरेको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण गरेको छ। यो कार्यक्रमले प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटलाई दिशा दिने अपेक्षा गरिएको छ।
कार्यदलका संयोजक एवं नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा मुख्यमन्त्री कार्कीलाई साझा कार्यक्रम बुझाइएको हो। कार्यक्रममा प्रदेश प्रमुखमार्फत संसद्बाट पारित भइसकेको ‘आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम’सँग धेरै विषय मिले पनि केही नयाँ राजनीतिक प्रतिबद्धता र जनसरोकारका एजेन्डा थपिएका छन्।
साझा कार्यक्रममा आर्थिक वर्ष २०८३/८४ को बजेट पुनरवलोकन गर्ने घोषणा गरिएको छ। संसद्बाट पारित भइसकेको बजेटलाई थप सन्तुलित र व्यवस्थित बनाउन पुनरवलोकन गर्ने विषयलाई विशेष जोड दिइएको छ। यसअघि नेपाली कांग्रेस र एमालेबीचको सरकारका पालामा आएको बजेट पुनरवलोकन गर्ने विषयमा सहमति भएको थियो।
कोशी प्रदेशको पहाडी जिल्लामा मुख्य समस्याको रूपमा रहेको बाँदर आतङ्क नियन्त्रण गर्न साझा कार्यक्रमले नीतिगत रूपमै सम्बोधन गर्ने जनाएको छ। किसानको बालीनाली नष्ट गर्ने बाँदर नियन्त्रणका लागि आवश्यक अध्ययन र अनुसन्धान गरी ठोस नीति तय गर्ने प्रतिबद्धता कार्यक्रममा छ। यसैगरी, बसाइसराइँ रोक्न प्रदेशले एकीकृत बस्ती निर्माणको योजना ल्याउने पनि उल्लेख छ। ‘अनियन्त्रित बसाइसराइँ नियन्त्रण गर्न एकीकृत ग्रामीण विकास प्राधिकरणको संरचनागत व्यवस्था गरी ग्रामीण विकासका नयाँ योजना तथा कार्यक्रम अघि बढाइनेछ,’ कार्यक्रममा भनिएको छ।
नयाँ साझा कार्यक्रमले स्थानीय मदिरा र गाँजा खेती प्रवर्द्धनलाई कानुनी दायरामा ल्याउने उल्लेख गरेको छ। जनस्तरबाट व्यापक माग भई आएका यी विषयलाई प्रचलित कानुनको परिधिभित्र रही उत्पादन र बजारीकरणका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने प्रतिबद्धता नयाँ गठबन्धनले गरेको छ। यो वार्षिक नीति तथा कार्यक्रममा नभएको विषय हो।
यस्तै, प्रदेश सरकारका मन्त्रालय र निकायहरूको संरचना निर्माणलाई पनि साझा कार्यक्रमले प्राथमिकता दिएको छ। ‘प्रदेश सरकार र निकायको स्थायी संरचना स्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ बढाइनेछ,’ कार्यक्रममा भनिएको छ।
संसद्बाट पारित वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नै साझा कार्यक्रमले पनि प्रत्येक जिल्ला अस्पताललाई न्यूनतम ५० शय्यामा स्तरोन्नति गर्ने लक्ष्यलाई दृढताका साथ अघि सारेको छ। धनकुटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने र मेची प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्ने विषय दुवै कार्यक्रममा समान छन्। पूर्वाधार विकासतर्फ प्रादेशिक सडक सञ्जाल गुरुयोजना कार्यान्वयन गर्ने, पुलहरूको मर्मत सम्भारका लागि उपकरणसहितको प्राविधिक जनशक्ति परिचालन गर्ने र रणनीतिक सडकहरूको निर्माणलाई पूर्णता दिने नीति तथा कार्यक्रमका विषय साझा कार्यक्रममा पनि दोहोरिएका छन्।
कोशी प्रदेश भ्रमण वर्ष २०८३–२०८५ मनाउने घोषणा वार्षिक नीति तथा कार्यक्रमले गरिसकेको थियो, जसलाई साझा कार्यक्रमले पनि प्राथमिकतामा राखेको छ। कृषि क्षेत्रमा परम्परागत खेतीको सट्टा व्यावसायिकता र उत्पादकत्व वृद्धिलाई जोड दिइएको छ। दूध, चिया, कफी, अलैँचीजस्ता नगदेबालीको प्रवर्द्धन गर्ने र कृषिमा यान्त्रीकरण भित्र्याउने लक्ष्य दुवै कार्यक्रममा समान रूपमा समेटिएका छन्।
वार्षिक नीति तथा कार्यक्रममा सुशासनका कुराहरू सैद्धान्तिक बढी थिए भने साझा कार्यक्रममा राजनीतिक इमानदारिता र सहकार्यको विषयलाई बढी जोड दिइएको छ। एमाले र नेकपा (माओवादी केन्द्र) बीच आपसी संवाद, समझदारी र सहकार्यलाई उन्नत बनाउँदै लैजाने विषय साझा कार्यक्रमको प्रस्तावनामै उल्लेख छ। साथै, प्रदेश सभामा रहेका प्रतिपक्ष दलहरूसँगको संवाद र सहकार्यलाई पनि साझा कार्यक्रमले उच्च प्राथमिकतामा राखेको छ। अनुगमन र नतिजा खाकामा आधारित कार्यसम्पादनलाई जोड दिइएको छ।
कार्यदलका संयोजक आङ्बोले यसअघि संसदबाट पारित भएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई नै केन्द्रमा राखेर साझा कार्यक्रम आएको बताए। उनले केही नयाँ विषयहरू चालु आर्थिक वर्षमा मात्र नभई आउने आर्थिक वर्षहरूका कार्यक्रम र बजेटमा पनि समेट्न सकिने बताए। मुख्यमन्त्री कार्कीले कार्यदलले दिएको सुझावलाई प्रदेश सरकारले स्वामित्व लिने र आगामी मन्त्रिपरिषद् बैठकबाट त्यसलाई स्वीकार गरी क्षेत्रगत मन्त्रालयमा कार्यान्वयनका लागि पठाइने बताए।
